इतिहासकै तीव्र आर्थिक वृद्धिको बजेट आउनुपर्नेः महासचिव पौडेल

तस्बिरः एजेन्सी/रासस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रममा भनिएझैँ आगामी वर्षलाई इतिहासकै तीव्र आर्थिक वृद्धिको वर्षका रुपमा हासिल गर्ने बजेट आउनुपर्ने बताएका छन्।

सङ्घीय संसद्मा सोमबार आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफल कार्यक्रममा उनले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले आर्थिक वर्षलाई इतिहासकै तीव्र आर्थिक विकासको वर्ष हुने किसिमले बजेट आउने बताए।

‘विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले के कुरा स्पष्ट गरेको छ भने आगामी वर्ष विगतका सबै अधुरा योजनालाई सम्पन्न गर्छौं भन्ने अठोट गरेको छ,’उनले भने, ‘विकास अभियानका सन्दर्भमा यसले नयाँ र गुणात्मक सन्देश यसले दिन सक्नेछ।’

उनले विकास र जनप्रतिनिधि एकअर्कासँग अन्योन्याश्रित हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताए।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाअनुसार आर्थिक विकास, समाजिक न्याय र सुशासन हासिल गर्ने उद्देश्य विनियोजन विधेयकले गरेको उनको भनाइ थियो। ‘सामाजिक न्यायसहितको तीव्र आर्थिक विकास, क्षमताअनुसार कामको अवसर र मर्यादित रोजगारी, फराकिलो दायराको सामाजिक सुरक्षा र गुणस्तरीय पूर्वाधार सुनिश्चित गर्ने सङ्कल्प विधेयकले बोकेको छ,’उनले भने, ‘विधेयकले विकासलाई सामाजिक न्यायसँग जोड्ने, समुन्नत, सबल र आत्मनिर्भर अर्थतन्त्र तथा राष्ट्रिय पूँजीको विकास, रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा जोड दिएको छ।’

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमार्फत सुशासनको स्थापना गर्ने, प्रगतिशील र लगानीमैत्री राजश्व प्रणालीलाई अवलम्बन गर्ने प्रकारको सङ्कल्प पनि विधेयकले अघि सारेको धारणा व्यक्त गरे।

विनियोजन विधेयक खाद्य सुरक्षा, रोजगारी, जनस्वास्थ्य, आवास, सामाजिक सुरक्षाजस्ता मौलिक हक तथा जनताको सम्मानजनक जीवनयापनको पक्षमा उभिएको उनले बताए।

प्रकाशित मिति: : 2019-05-13 19:59:10

प्रतिकृया दिनुहोस्