चिनियाँ राष्ट्रपतिको भ्रमणबाट बहुआयामिक लाभ हासिल हुन्छ: अध्यक्ष दाहाल

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिको भ्रमणबाट बहुआयामिक लाभ हासिल गरिने बताएका छन् । नेकपा चितवनले आज माडीमा आयोजना गरेको दिवारक स्मृति ग्रन्थ विमोचन तथा दिवाकर भुसालको पूर्णकदको शालिक अनावरण समारोहलाई संम्वोधन गर्दै उनले राष्ट्रपति सी चीनफिङको भ्रमण नेपालका लागि उच्च महत्वको हुने बताए ।

नेपाल, चीन र भारतमा यति बेला सशक्त र शक्तिशाली सरकार रहेको र यस्तो परिस्थितिमा हुन लागेको भ्रमण केवल केही समय आउने र जानेमा मात्र सीमित नहुने विश्वास व्यक्त गरे ।

फरक प्रसङ्गमा उनले माडी क्षेत्रको विकासका लागि आफूले सरकार, निकुञ्ज र कर्मचारीसँंग छलफल गरिरहेको उनको भनाइ थियो । यस क्षेत्रको विकास संवेदनशील, महत्वपूर्ण र चुनौतिपूर्ण छ भन्दै उनले भने “यस क्षेत्रको विकासका लागि जति चुनौती छ त्यति नै महत्वपूर्ण रहेको छ जसका लागि म निरन्तर लागिरहेको छु ।” अध्यक्ष दाहालले पार्टीले छिट्टै महाभियान सञ्चालन गर्ने तयारी गरिरहेको बताउँदैसम्पूर्ण नेता कार्यकर्ता र शुभचिन्तकलाई त्यसमा जुट्न आग्रह गरे ।

कार्यक्रममा पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले भुसाल एक आदर्श नेता मात्र नभएर कम्युनिष्टका धरोहर रहेको बताउँदै उको आदर्श पूरा गर्न सिड्गो पार्टी लाग्नुपर्नेमा जोड दिए । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भुसालले समाज र पार्टीलाई छाडेर जानुभएको आदर्शलाई व्यवहारमा उतार्दै अगाडि बढ्दा मात्र उनिप्रति सच्चा सम्मान हुने बताए । पार्टीको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ भन्दै उहाँले अब एकीकृत पार्टीका सारा शक्ति र सरकार राष्ट्र निर्माण लगाइने बताए ।

प्रकाशित मिति: : 2019-10-11 17:08:56

प्रतिकृया दिनुहोस्