राष्ट्रपति सी आउनु अघि हवाईगस्ती, घरका छतमा समेत हातहतियारसहित सेना परिचालन

फाइल तस्बिर

२३ वर्षपछि हुन लागेको चिनीयाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी सरकारले उपत्यकाको सुरक्षामा उच्च सर्तकता अपनाएको छ। राष्ट्रका सबै सुरक्षा निकायलाई परिचालन गरी सुरक्षामा कुनै कमी नराखेको गृह मन्त्रालयले जनाएको छ।

नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई एकिकृत रूपमा परिचालन गरिएको गृहले जनाएको छ। राष्ट्रपति सीको सवारी रूटदेखि उनको बासस्थानमा सुरक्षा ब्यवस्था कडा पारिएको छ।

राष्ट्रपति सीको सुरक्षाको लागि नेपाल प्रहरी मात्र १६ हजार बढी परिचालन गरिएको छ। बिहानैदेखि सुरक्षाकर्मीहरू विमानस्थल, राष्ट्रपति सिको सवारी रूट, उनको बासस्थान र चिनीयाँ दूतावास क्षेत्रमा ब्यापक रुपमा परिचालन गरिएको छ।

नेपाली सेनाले सी आउनु अघि साढे ११ बजेबाट हवाईगस्ती सुरु गरेको छ। अत्याधुनिक दूरविनबाट निगरानी गर्दै सेनाले हवाई गस्ती सुरु गरेको हो। सेनाकै नेतृत्वमा चार वटा सुरक्षा निकायले सीको भ्रमण अवधिभरलाई पहरेदार दिइरहेका छन्। सेनाले हवाईसँगै पैदल गस्तीलाई निरन्तरता दिएको छ। सेनासँगै प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीले पैदलगस्ती गरिरहेका छन्।

सीको भ्रमणमा प्रयोग हुने सवारी रुटमा पर्ने ठूला घरका छतबाट समेत सेनाले अत्याधुनिक हतियार र दूरविनबाट निगरानी गरिरहेको छ। सेना, प्रहरी र सशस्त्रले कन्ट्रोल रुम भेइकल (सीआरभी) मार्फत सवारी रुटमा गस्ती गरिरहेका छन्।

सीको जहाज काठमाडौं उत्रेपछि उनको सडक सवारी हुँदा नेपाली सेनाको हेलिकप्टरले ‘एरियल रेकी’ गर्नेछ। खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटेलसम्म, होटलदेखि राष्ट्रपति कार्यलय र राष्ट्रपति कार्यलयदेखि होटलसम्म र होटलदेखि विमानस्थलसम्मको रूटमा विशेष सुरक्षा सुरक्षा निगरानी हुनेछ। त्यो रूटमा सेनाको हेलिकप्टले एरियल रेकी गर्नेछ।

काठमाडौं प्रहरीका अनुसार, सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिनेछ भने सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइनेछ ।सार्वजनिक यातायातका साधनलाई पनि दिउँसो १ बजेदेखि राति ९ बजेसम्म सी सवार हुने रुटमा सञ्चालन नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति: : 2019-10-12 12:09:55

प्रतिकृया दिनुहोस्