चिनियाँ राष्ट्रपति सीको स्वागत र विदाइमा विद्यार्थी र निजामती कर्मचारीलाई सडकमा उभ्याइने

बिएल

चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागत र विदाइका बेला काठमाडौंस्थित सरकारी कार्यालयका निजामती कर्मचारीलाई पनि सडकमा राखिने भएको छ।सीको स्वागत र विदाइमा माइतीघरदेखि बानेश्वरसम्म कर्मचारी राख्न लागिएको हो।

राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह नेपाल आउँदैछन्।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालका अनुसार राष्ट्रपति सीको स्वागतका लागि कर्मचारीलाई शनिबार अपरान्ह ३ बजे उपस्थित भइसक्न निर्देशन आएको छ।यता सी सवार हुने मुख्य सडकका दायाँबायाँ दुई देशको झण्डा हातमा समाउन लगाएर विद्यार्थीलाई पनि राखिनेछ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एनप्याब्सन) का एक अधिकारीका अनुसार आफूहरुलाई विद्यार्थी पठाइदिन सरकारले आग्रह गरेको बताए ।

काठमाडौं प्रहरीका अनुसार, सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिनेछ भने सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइनेछ ।सार्वजनिक यातायातका साधनलाई पनि दिउँसो १ बजेदेखि राति ९ बजेसम्म सी सवार हुने रुटमा सञ्चालन नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

शनिबार भारतको चेन्नईबाट काठमाडौं आउन लागेका सी आइतबार १ बजे स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति: : 2019-10-12 12:32:07

प्रतिकृया दिनुहोस्