इरानी राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकासँग कहिल्यै युद्ध नचाहेको बताएका छन्।
इरान र संयुक्त राज्य अमेरिकाबीच तनाव चुलिएका बेला इरानी राष्ट्रपति रौहानीको यो अभिव्यक्ति आएको हो । पछिल्ला केही महिनायता यी दुई देशबीचको तनाव चुलिएको बताइछ । इरानलाई कसैसँग पनि तनाव बढाउने कुनै इच्छा छैन– उनलाई उद्धृत गर्दै इरानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
यस क्षेत्रमा इरानका कारणले कुनै असहज अवस्था होस् भन्नेमा पनि इरान नरहेको उनको दाबी थियो । हामी कसैसँग पनि युद्ध चाहँदैनौ, हामी अमेरिकासँग पनि चाहँदैनौ– उनले भने । उनको यो अभिव्यक्ति फ्रान्सेली समकक्षीसँग बुधबार फोनवार्तामा कुरा गर्दा व्यक्त भएको हो।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँगको फोन वार्ताका क्रममा इरानी राष्ट्रपतिले यस्तो अभिव्यक्ति राखेको इरानी सरकारी समाचार समिति इर्नाले जानकारी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा इरानसँग निकै विवाद भएको स्वीकार पनि गरेका थिए ।
इरानले हालैमात्र एक अमेरिकी ड्रोनमाथि हमला गरेर इरानी भूमिमा खसालिदिएको थियो । त्यसपछि अमेरिका र इरानको विवाद झन् बढ्दै गएको छ । आफ्नो देशको सीमानाको उल्लंघन गरी विना अनुमति आफ्नो भूमिमा प्रवेश गरेकोले हमला गरेर सो ड्रोन खसालिदिएको इरानले बताएको छ ।
तर इरानको यो भनाई सत्य नरहेको अमेरिकी दाबी छ । अमेरिकी ड्रोनले इरानको सीमाना ननाघेको अमेरिकाले बताउँदै आएको छ । पछिल्लो समयमा अमेरिकी ट्यांकरहरुमा इरानमा आक्रमण गरी जलाउने काम भएको छ । अज्ञात समूहहरुले अमेरिकी ट्यांकरहरुमा हमला गर्ने गरेका छन् । त्यस हिंसामा इरानको हात रहेको अमेरिकाले बताएको छ । (रासस–एएफपी)