भारतमा ४९ वर्षपछि महिला अर्थ मन्त्रीले बजेट भाषण प्रस्तुत गर्दै

Agency

भारतमा ४९ वर्षपछि महिला अर्थ मन्त्रीले बजेट पेश गर्ने भएकी छिन्। भारतीय जनता पार्टी (बिजेपी) ले गत महिना सरकार निमार्ण गर्ने क्रममा अर्थ मन्त्रालयको भूमिका महिला सांसद निर्मला सीतारमणलाई दिएको थियो। उनी सन् १९७० पछि भारतीय सांसदमा बजेट पेश गर्ने दोश्रो महिला बन्न लागेकी छिन्। बजेट शुक्रबार सार्वजनिक हुँदैछ।

यसअघि इन्दिरा गान्धीले बजेट पेश गरेकी थिइन।

बिजेपी प्रचण्ड बहुमतसहित गत महिना दोस्रो कार्यकालका लागि सरकार बनाउन सफल भएको थियो। बिजेपीको पहिलो कार्यकालमा सीतारमण रक्षा मन्त्री थिइन।

भारतको बजेट इतिहासलाई फर्केर हेर्दा बेलायती उपनिवेशको समय ब्रिटिश वायसरायको अर्थ हेर्ने काउन्सिल सदस्य जेम्स विल्सनले १८ फेब्रुअरी १८६० मा भारतको पहिलो बजेट पेश गरेका थिए।

पहिलो बजेटमार्फत भारतको कर संरचना र कागजी मुद्रालाई प्रयोगमा ल्याइएको थियो।

भारतको पहिलो बजेट सार्वजनिक गर्ने उनै विल्सनले साप्ताहीक पत्रिका ‘द इकोनोमिस्ट’ को स्थापना पनि गरेका थिए। उनको निधन बजेट पेश गरेको ५ महिनापछि कोलकातामा भएको थियो।

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि देशको पहिलो अर्थ मन्त्री आरके षणमुखम चेट्टी भएका थिए। उनले २६ जनवरी १९४७ मा केन्द्रीय बजेट पेश गरेका थिए।

सन् २००० सम्म भारतको बजेट फेब्रुअरी महिनाको अन्तिम दिन साँझ ५ बजे प्रस्तुत गरिने गरिन्थ्यो। ब्रिटिश संसदका लागि साँझको ५ बजे लोकप्रिय समय भएको हुनाले उनीहरूले त्यही समयमा बजेट भाषण गर्ने परम्पराको थालनी गरेको बताइन्छ।

सन् २००१ मा बिजेपीकै यशवन्त सिन्हा अर्थ मन्त्री हुँदा यो परम्परा तोडिएको थियो। उनले बिहान ११ बजेदेखि बजेट पेश गर्ने प्रावधान निकालेका थिए।

२०१४ मा अन्तिम पल्ट बिजेपीका अरुण जेटलीले बजेट भाषण प्रस्तुत गर्दा पाँच मिनेट ब्रेक लिइएको थियो। बजेट भाषण डेढ घण्टाको थियो।

भारतको संसदीय इतिहासमा सबैभन्दा बढी मोरारजी देसाईले १० पल्ट बजेट भाषण प्रस्तुत गरेका छन्। जसमा ८ पल्ट पूर्ण बजेट र २ पल्ट अन्तरिम बजेट समावेश छ।

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले आफू अर्थ मन्त्री हुँदा सन् १९९१ मा बजेट भाषण गरेका थिए।

यसपछि भारत उदार अर्थव्यस्थामा प्रवेश गरेको थियो।

प्रकाशित मिति: : 2019-07-04 16:48:47

प्रतिकृया दिनुहोस्