राजेशले गीत चाेरेकाे भन्दै मुरलीधरले गरे उजुरी

बिएल

भेट्रन गायक तथा स‌ंगीतकार मुरलीधरले गायक राजेश पायल राईले आफ्नो गीत चोरी गरेको भन्दै मुद्दा हालेका छन् । उनले  २०५३ सालमा आफ्नै स्वर, शब्द अनि संगीतमा गाएकाे गीत 'निष्ठुरीलाई माया गरी आफैलाई राेगी बनाए' बोलको गीत राईले चोरेको भनेर नेपाल संगीतकार संघमा मुद्दा हालेका हुन् । 

दशैतिहार मनाउने क्रममा नेपाल आएको बेला उनले यसबारेमा राजेशसँग कुरा गर्न खोजेका थिए । तर, नभेटेपछि नेपाल संगीतकार संघमा उजुरी गरेको उनले बताए । 

हरेक वर्ष दशैं-तिहार मनाउन नेपाल आइपुग्ने मुरलीधरले बिहीबार भारतकाे पटना लाग्नुअघि बीएल नेपाली सेवासँग छाेटाे कुराकानी दिँदै भने–'मलाई एक वचन पनि साेधिएन । धेरै दु:ख लागेकाे छ ।' 

उनले आफ्नाे गीत चाेरेकाे विषयमा विवाद बाहिर आइसक्दा पनि गायक राईले फाेन गरेर आफूसँग कुरा नगरेकाेमा झनै आश्यर्य लागेकाे बताए । उनले भने– मेराे फेसबुक छ। नम्बर छ । वास्तवमा उनलाई मेराे स्वीकृति नलिई मेराे गीत गाउनु पर्ने आवश्यकता के पर्याे? त्याे बताइदिएकाे भए पनि हुन्थ्याे ।' 

उनलाई मेराे स्वीकृति नलिई मेराे गीत गाउनु पर्ने आवश्यकता के पर्याे? त्यति बताइदिएकाे भए पनि हुन्थ्याे । 
-मुरलीधर, गायक/संगीतकार

आफूले धेरै  मिहिनत गरेर जन्माएकाे संगीत चाेरी हुँदा सबैलाई दु:ख लाग्ने बताउँदै मुरलीधरले भने– 'याे मेराे सवालमा मात्र हाेइन, राजेश पायल राईकाे सवालमा पनि लागु हुन्छ ।उहाँको गीत कसैले चाेरे भन्यो उहाँलाई पनि नराम्राे लाग्छ ।' 

राजेश पायल राईसँग कुरा हुन नसकेपछि उनले नेपाल संगीतकार संघमा उजुरी पनि हालेको बताए । 'उहाँहरुले कुरा गर्छु भन्नु भएकाे छ', मुरलीधरले भने।

बीएल नेपाली सेवाले राईसँग प्रतिक्रिया लिन खोज्दा उनी यतिबेला सांगीतिक कार्यक्रमको क्रममा विदेशमा रहेको बताइयो । 

मुरलीधर 'उडायो सपना सबै हुरीले...' फेमका एक भेट्रन संगीत सर्जक हुन् । उनले सयौको संख्यामा नेपाली संगीत क्षेत्रलाई कर्णप्रिय गीतसंगीत दिएका छन् । लामो समयदेखि भारतकाे मुम्बईलाई कर्मथलो बनाएका उनी दशैं-तिहार मनाउन नेपाल आएका थिए। भारतकाे सुपरहिट चलचित्र मिस्टर इन्डियामा चाइनिज डाक्टरकाे अभिनय गरेका मुरलीधरले थुप्रै भारतीय फिल्ममा अभिनयसमेत गरेका छन्। उनले केही नेपाली चलचित्रमा पनि अभिनय गरेका छन् ।  

प्रकाशित मिति: : 2019-10-31 16:45:57

प्रतिकृया दिनुहोस्