सुर्दशनलाई छुटाएर उनैमार्फत् वार्ता गर्ने 'बिप्लव रणनीति'लाई सरकारको 'हरियो झण्डा'

विप्लवका 'सुदर्शन' भेट्न बालुवाटारका पौडेल पुगे नख्खु कारागार । ब्रेक एन लिंक्स ग्राफिक्स

सरकारद्वारा प्रतिबन्धित नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द 'बिप्लव' ले जेलमा रहेका नेता हेमन्तप्रकाश ओली 'सुर्दशन'लाई छुटाउन वार्ता रणनीति अगाडि बढाएका छन् । रणनीतिअनुसार वार्ताको नेतृत्व गर्ने नाममा पहिला सुदर्शनलाई छुटाउने र त्यसपछि सरकारलाई वार्तामा 'इंगेज' गराइने छ । सुदर्शन अहिले नख्खु कारागारमा छन् ।

नेकपाको विप्लव घटकका महासचिव विप्लव निकट एक नेताले ब्रेक एन लिंक्ससँग कुराकानी गर्दै यही रणनीतिमा रहेर सत्तारूढ पार्टीले वार्ताका लागि खटाएका नेताहरूसँग कुराकानी भएको र सरकार त्यो कुरामा सहमत भैसकेको पुष्टी गरेका छन् । त्यसैको संकेतस्वरूप सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेल नख्खु कारागार गई नेता सुदर्शनसँग भेटवार्ता गरेको उनको दावी छ ।

यसैबीच सत्तारूढ नेकपाले खटाएको सोमप्रसाद पाण्डेको वार्ता टोलीले बिप्लव नेकपाका केन्द्रीय सदस्य गुणराज लोहनीलगायतसँग अनौपचारिक बार्ता अघि बढाएको छ। टोलीले सोमबार मात्र लोहनीसँग राजधानी आसपासको क्षेत्रमा औपचारिक भेटघाट गरेको थियो।

वार्तामा लोहोनीले पाण्डेको टोलीलाई विप्लब माओवादीको वार्ता रोडम्यापको खुफासा गराएका थिए । रोडम्यापअनुसार पहिला सुदर्शनलाई रिहा गर्ने र उनकै नेतृत्वमा वार्ता गर्ने रहेको छ । त्यसपछि उनीहरूका तीनवटा शर्त रहेका छन् । पहिलो सरकारले विप्लवको नेकपा पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा हुनुपर्ने, दोस्रो जेलमा रहेका नेताहरुलाई बिनासर्त रिहाइ  गर्नुपर्ने र तेस्रो धरपकड बन्द गर्नुपर्ने । यी शर्तहरू रोडम्यापलाई सरकारले पछ्याएमा वार्ता गर्ने कुरा केही समयअघि पार्टी महासचिव विप्लवकै अध्यक्षतामा बसेको पार्टी स्थायी समितिले निणर्य गरेको थियो । यदि सरकारले बिप्लवले राखेका तीन सर्त मानेको खण्डमा फेरि स्थायी समितिको बैठक बसेर औपचारिक वार्ताको घोषणा गरिने छ ।

लोहोनीसँगको अनौपचारिक वार्ता सकारात्मक भएपछि पाण्डेको टोली वार्ता गर्न नेपालगञ्ज पुगेको बताइएको छ । वार्ता भारतीय सिमा क्षेत्रमा हुने अनुमान गरिएको छ । सम्भवत: वार्ता टोलीको नेतृत्व नेकपामा महासचिव विष्णु पौडेल र नेकपा विप्लव घटका महासचिव नेत्र विक्रम चन्द नै गर्नेछन् । 

प्रकाशित मिति: : 2019-07-17 08:09:57

प्रतिकृया दिनुहोस्