विद्याको झोलामा के-के छ?

कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सत्तासीन दल नेकपाबाट उम्मेदवार बनेकी विद्या भट्टराईको झोला उनका देवरले बोकेको तस्वीर यतिबेला चर्चा र विवादको विषय बनिरहेको छ। सामाजिक सञ्जालमा झोला बोक्ने व्यक्तिलाई ‘झोले कार्यकर्ता’को उपमा दिइएको छ। 

जे होस्, विद्याको झोला यतिबेला चर्चामा छ। पंक्तिकारलाई लाग्छ, झोला आफैँमा विवादको विषय हैन। बरु, हामीले झोलामा के के छ? भन्नेतर्फ बहस केन्द्रित गर्नुपर्थ्यो। विद्याको त्यो झोला खोल्ने हो भने वाइडबडी घोटालाको रहस्य पर्दाफास हुनसक्छ कि? वाइडबडी घोटालाको छिनोफानो नहुँदै पतिको अवसान भएकाले विद्यालाई त्यसबारे केही न केही त थाहा होला। के त्यो झोलामा वाइडबडीको गुह्य छ? 

नेकपाकी उम्मेदवार भएकाले विद्याको झोलामा पक्कै पनि नेकपाको दुई तिहाइ बहुमतको सरकारको कार्य मूल्यांकन  पनि त होला। उनले जनतासँग भोट माग्ने आधारहरु त्यसमा होलान्। आखिर यो अढाइ वर्षमा नेकपा सरकार आफ्नो चुनावी घोषणापत्रमा खरो उत्रियो कि उत्रिएन भन्ने प्रश्नको जवाफ यदि विद्याको झोलामा छैन भने त्यो झोलाकै के औचित्य रह्यो र? 

प्रकाशित मिति: : 2019-11-08 17:55:50

प्रतिकृया दिनुहोस्