उत्तरी धादिङको एउटा गाउँमा युवा जनशक्ति पलायन, ७ दिनदेखि सम्पर्क विच्छेद

बिएल

उत्तरी धादिङको विकट मानिने खनियावास गाउँपालिका–२ स्थित क्युङ गाउँमा युवाहरू पलायन हुँदा विगत ७ दिनदेखि सम्पर्क विच्छेदमा रहेका गाउँवासीहरूको जनजीवन प्रभावित बन्न थालेको छ। 

धादिङमा नियमित परेको बर्षाका कारण गत साता यो गाउँलाई जोड्ने एक मात्र काठेपुल बाढीले बगाएको थियो। गाउँमा युवा जनशक्ति नहुँदा अर्को काठेपुल बनाउन नसकिएको गाउँपालिका–२ का वडाध्यक्ष टेकबहादुर तामाङले जानकारी दिए।

क्युङ गाउँमा ६३ घरधुरी छ। गाउँ पुग्न सदरमुकामबाट २ दिन पैदल यात्रा गर्नुपर्ने अवस्था छ। गाउँलाई जोड्ने एकमात्र काठेपुल बगाएपछि वडा कार्यालयले पुल बनाउन गाउँवासीलाई आग्रह गरेको थियो।

क्यूङ गाउँस्थित थलीमा रहेको १० घरमध्ये सात जना मात्र गाउँमा छन्।

‘गाउँमा कोही नभएकोले थली गाउँ शून्य अवस्थामा छ। कन्द्राङमा १३ घर, गोरगङ गाउँमा पाँच घर छ। युवा जनशक्ति नभएका कारण विकासका अन्य कामसमेत प्रभावित भएको छ,’ वडाध्यक्ष तामाङले भने–‘बुढापाका र बालबालिका मात्र गाउँमा छन्।’

यो गाउँमा कोही बिरामी भयो भने बोकेर स्वास्थ्य चौकीसम्म लाने मानिस नभएको तामाङको भनाई छ।

‘गाउँमा यातायात र सञ्चारको सुविधा छैन। गाउँवासी पलायन हुँदै गइरहेका छन्। वर्षमा छ महिना भारततर्फ काम गर्न जान्छन्,’ उनी भन्छन्।

 

प्रकाशित मिति: : 2019-07-20 11:58:01

प्रतिकृया दिनुहोस्