भारतीय मुस्लिम महिलाका लागि मंगलबार ऐतिहासि दिन सावित भएको छ। मुस्लिम महिलाविरूद्ध लामो समयदेखि जारी लैंगिक असमानतालाई मलजल गर्ने तीन तलाकविरूद्धको बिल राज्यसभाबाट अनुमोदित भएको छ।
मंगलबार केन्द्रीय कानुन मन्त्री रविशंकर प्रसादले राज्यसभामा प्रस्तुत गरेको बिललाई लिएर ४ घण्टा बहस भएको थियो। विपक्षी पार्टीहरूको विरोधका बाबजुद ८४ विरुद्ध ९९ मतले तीन तलाकविरूद्धको बिल स्विकृत भयो।
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले बिल स्विकृत गराउन आफ्नो सांसदहरूलाई ह्वीप जारी गरेको थियो।
सत्ता साझेदार दल जनता दल युनाइटेड, एआइएडीएमके र टीआरएसले भाजपाले ल्याउन लागेको कानुनको विरोध गरेपनि मतदानको समय सबै पार्टीले ‘वाक आउट’ गरेका थिए। जसका कारण भाजपालाई स्विकृत गराउन सहज भयो।
अब यो बिल लागु गर्ने विषयमा निर्णयार्थ राष्ट्रपति कहाँ जानेछ। राष्ट्रपतिबाट मोहर लागेपछि कानुन बनेर लागु हुनेछ।
यसअघि यो बिल स्विकृतिका लागि दुई पल्ट राज्यसभामा पठाइएको थियो। तर, राज्यसभामा बहुमत नपुगेका कारण भाजपा तीन तलाकविरूद्धको अभियानलाई स्विकृत गराउन असफल रहँदै आएको थियो।
नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएपछि राज्यसभाबाट पनि बिल पास भएको हो। हाल राज्यसभामा भाजपाको ७८ मत छ। सबै मिलाएर उसको १ सय १७ सिट रहेको छ।