रुद्रबहादुर खड्का कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी

फाइल तस्बिर: बिएल

प्रदेश १ प्रहरी कार्यालय विराटनगरले क्षेत्रीय अनुसन्धान समूहमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर खड्कालाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ। उनलाई वेष्ट पुलिस अफ दी मन्थबाट पुरस्कृत पनि गरिएको छ।

बम विष्फोटनको घटना गराएर आम नागरिकमा आतंक फैल्याउने काम गरेर फरार रहेकालाई पक्राउ गर्दै कानुनी कारबाहीको दायरामा ल्याउन सफल भएका कारण खड्कालाई सर्वोत्कृष्ट घोषित गरिएको हो।

प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले सुरक्षाको अनुभूति हुने गरी सर्वसाधारण नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनिय कार्य गरेकाले सहायक निरीक्षक खड्कालाई पुरस्कृत गरिएको बताए। सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिण्ट प्रदेश प्रहरी कार्यालयमा निर्माण गरिएको स्तम्भ तथा प्रदेश भरी रहेका प्रहरी युनिटमा एक महिनासम्म सार्वजनिक रुपमा सबैले देख्ने गरी राख्ने गरिएको छ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ।

प्रकाशित मिति: : 2019-11-26 17:08:11

प्रतिकृया दिनुहोस्