खेललाई उल्ट्याउँदै टोटेनहम नकआउट चरणमा

तस्बिरः एजेन्सी

साविकको उपविजेता टोटेनहम च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

मंगलबार राति भएको खेलमा ग्रिसको ओलम्पियाकोसलाई ४–२ गोल अन्तरले पराजित गर्दै टोटेनहम अघिल्लो चरण प्रवेश गरेको हो।

टोटेनहमको जितमा ह्यारी केनले दुई तथा डेली अली र सर्ज औरिएरले एक एक गोल गरे। यता ओलम्पियाकोसका लागि अल अरबी र बोर्गेस सेमेदोले गोल गरे।

खेलमा अग्रता पाहुना टोलीले छैटौ मिनेटमा अरबीको गोलबाट लिएको थियो। १९ औ मिनेटमा सेमेदोले गोल गर्दै ओलम्पियाकोसलाई २–० को अग्रता दिलाए।

तर टोटेनहमले खेलमा २–० ले पछाडी परेको स्थितीलाई उल्टायाे।

अलीले पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै टोटेनहमलाई १–२ को स्थितिमा फर्काए। ५० औं मिनेटमा केनले घरेलु टोलीका लागि बराबरी गोल गरेका थिए।

औरिएरले ७३ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई ३–२ को अग्रता दिलाए। ७७ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरेका थिए।

समूह बी को दोस्रो स्थानको टोटेनहमले ५ खेलबाट १० अंक जोड्यो। ओलम्पियाकोस १ अंक सहित तालिकाको पुछारमा रह्यो।

यही समूहमा रहेको बार्यन म्युनिख यसअघिनै नकआउट चरण प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति: : 2019-11-27 06:55:33

प्रतिकृया दिनुहोस्