बागलुङ–२ (ख): ४५ वटै मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान

प्रतिकारत्मक तस्बिर

बागलुङ–२ (ख) र बडिगाड गाउँपालिका–२ का मतदान केन्द्रमा शनिबार बिहान ७ बजेदखि मतदान शुरु भएको छ। ४५ वटै मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए।

प्रदेशसभा सदस्यको निर्वाचन हुने क्षेत्रमा ४३ र वडाध्यक्षको निर्वाचन हुने बडिगाड–२ मा दुई मतदान केन्द्र छन्। उत्साहपूर्वकरुपमा मतदाता मतदानमा सहभागी भएको ढोरपाटन नगरपालिका–३ स्थित घोसाखानी आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत खिम विकले बताए।

प्रदेशसभा सदस्यका लागि १० उम्मेदवार चुनावी मैदानमा छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारी उम्मेदवार छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी चुनावी मैदानमा छन्। प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।

यस्तै बडिगाड गाउँपालिका–२ बाट निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो। वडाध्यक्ष पदका लागि नेकपाबाट ढालप्रसाद शेरचन, काङ्ग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल राना चुनावी मैदानमा छन्। प्रदेशसभा सदस्यको उपनिर्वाचन हुने क्षेत्रमा ३५ हजार १८४ र बडिगाड गाउँपालिका–२ मा एक हजार ७४२ मतदाता छन्। मतदान साँझ ५ बजेसम्म चल्नेछ।

प्रकाशित मिति: : 2019-11-30 08:11:19

प्रतिकृया दिनुहोस्