पार्टीलाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्छ– अध्यक्ष प्रचण्ड (भिडियाे सहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

पार्टीको केन्द्रीय कार्यालयद्वारा सोमबार काठमाडौंमा आयोजित शहीद सुरेश वाग्ले ‘वासु’ को २१औँ स्मृतिसभामा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो समयमा पार्टीका नेताहरु अलि बढी आत्मकेन्द्रित र व्यक्तिकेन्द्रित हुँदै गएको भन्दै सबैलाई स्वीकार हुने गरी जनताको सेवामा समर्पित पार्टी बनाउनेतर्फ केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए। अध्यक्ष ‘प्रचण्ड’ले पार्टीलाई जनतामा समर्पित गर्न सकेको खण्डमा मात्र शहीदकोे वास्तविक सपना पूरा हुने बताए।

उनले निरंकुशतावादी र कुनै पनि नाममा प्रतिक्रियावादी शक्तिलाई यो देशलाई फेरि निरंकुशताको जाँतोमा पिस्न दिने कुरा आफूहरुलाई स्वीकार्य नहुने बताए। उनले आफूहरुको कमजोरी भए त्यसलाई सच्याउन तयार रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबैसँग आग्रह गरे।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता प्रक्रिया जतिसक्दो चाँडो सक्ने तयारी भइरहेको बताउँदै शहीदको सपना पूरा गर्न नयाँ सङ्कल्पसहित अगाडि बढ्ने बताए। पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको सम्पूर्ण काम टुङ्गो लागेपछि पार्टीले जनताको आवश्यकतानुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: : 2019-09-09 14:26:15

प्रतिकृया दिनुहोस्