पार्टी नेताको व्यवहार र चरित्रका कारण निर्वाचनमा पराजय भोग्नुपर्‍यो: रामचन्द्र पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल I

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकका हरेक परिवर्तनमा काङ्ग्रेसको सिद्धान्तले जिते पनि पार्टी नेताको व्यवहार, आचरण र चरित्रका कारण निर्वाचनमा पराजय भोग्नुपरेको उल्लेख गरे । बिपीको विचारलाई कार्यकर्तासम्म प्रशिक्षण दिनु जरुरी रहेको उनको भनाइ थियो ।

शुक्रबार गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालको दोस्रो साधारणसभामा सबै नीतिको मूल नीति राजनीति भएकाले राजनीतिलाई सम्मानजनक बनाउन जरुरी रहेको उनले बताए । उनले पैसाका आधारमा पार्टी र सरकार कब्जा गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म मुलुक विकासको बाटोमा जान नसक्ने बताए ।

पूर्वमन्त्री रामबहादुर गुरुङले गाउँमा बस्ने वातावरण निर्माण नभएसम्म मुलुक विकास हुन नसक्ने बताए ।उनले गाउँमा रहेका जनतालाई पूर्वाधार पुर्‍याउन नसक्दा अधिकांश मानिस पलायन हुँदै गएको भन्दै गाउँमा बस्ने वातावरण निर्माणमा सरकार लाग्नुपर्ने उल्लेख गरे । गाउँमा रोजगारीको अवसर सिर्जना नगरेसम्म पलायन हुने अवस्था नरोकिने उनको भनाइ थियो ।

प्रकाशित मिति: : 2019-09-20 16:19:45

प्रतिकृया दिनुहोस्