आइसिसीले लागु गर्यो क्रिकेटमा नयाँ नियम

Agency

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले अगस्ट १ देखि अतिरिक्त खेलाडी सम्बन्धि नयाँ नियम लागु गर्ने भएको छ।

इंग्ल्यान्ड र अस्ट्रेलियाबीच अगस्ट १ बाट सुरु हुने एशेज शृंखलादेखि लागु हुने नयाँ नियममा यदी कुनै ब्याट्सम्यानलाई ब्याटिङका क्रममा चोट लागेको खण्डमा उसको स्थानमा अतिरिक्त खेलाडीले ब्याटिङ गर्न पाउने छन्।

यो नियम ब्याट्सम्यानमा मात्र सिमित रहने छैन, बलर र विकेटकिपरमा पनि लागु हुनेछ। तर, खेलाडी परिवर्तन गर्ने निर्णय म्याच रेफ्रीले मात्र गर्नेछन्।

यसअघि फिल्डिङमा मात्र आइसिसीले अतिरिक्त खेलाडीलाई प्रयोग गर्न छुट दिँदै आइरहेको थियो।

लन्डनमा आइसिसीको विहिबार बसेको वार्षिक बैठकमा नयाँ नियम लागु गर्ने निर्णय गरिएको हो।

आइसिसीले पास गरेको नयाँ नियम अन्तर्राष्ट्रियको सबै फरम्याट र पहिलो श्रेणी क्रिकेटमा लागु हुनेछ। हालका लागि यो नियम दुई वर्ष लागु हुनेछ। यसको पूर्ण समीक्षापछि मात्र भविष्यमा लागु गरिने आइसिसीले जनाएको छ।

‘कनकशन सब्सट्युट’ को उपमा दिइएको यो नियम लागु गर्दा आइसिसीको मेडिकल प्रतिनिधिको रोहवरमा गरिनेछ। जसलाई म्याच रेफ्रीले स्विकृति प्रदान गर्ने
छन्।

गत साता सम्पन्न विश्व कपमा अस्ट्रेलियाका एलेक्स केरी चोटग्रस्त हुँदा पनि ब्याटिङ गर्न मैदानमा डटिरहेका थिए। उनलाई जोफ्रा आर्चरको बलमा चोट लागेको थियो।

दक्षिण अफ्रिकाका हासिम अमला पनि चोटका कारण बाहिरिएका थिए। उनी दोस्रो पल्ट ब्याटिङ गर्न फर्किन सकेका थिएनन्। केरी चिउडाेमा पट्टी बाधेर ब्याटिङका लागि क्रिजमा डटेका थिए। ब्याटिङ गर्ने क्रममा उनको चिउडाेबाट रगत बगिरहेको थियो।

 

प्रकाशित मिति: : 2019-07-19 11:47:04

प्रतिकृया दिनुहोस्