२२ महिनापछि सुनिल नरेन वेष्ट इन्डिज टिममा फर्किए

Agency

वेष्ट इन्डिजका अनुभवी स्पिनर सुनिल नरेन दुई वर्षपछि वेष्ट इन्डिजको क्रिकेट टोलीमा फर्किएका छन्।

भारतविरूद्ध शृंखलाका लागि अघिल्लो दुई टि–२० खेलमा उनको पनि चयन भएको छ।

३ अगस्टदेखि सुरु हुने शृंखलाका लागि वेष्ट इन्डिजले तीन टि–२० मध्ये दुई खेलका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ।

कार्लोस ब्रेथवेटको कप्तानीमा ३२ वर्षीय किरोन पोलार्डको पनि आगमन भएको छ। सुनिल २२ महिनापछि टिममा फर्किएका हुन्। उनले पछिल्लो खेल १६ सेप्टेम्बर २०१७ मा इंग्ल्यान्डविरूद्ध खेलेका थिए।

विकेटकिपर ब्याट्सम्यान एन्थोनी ब्रेमबललाई पहिलो पल्ट टोलीमा स्थान दिइएको छ।

क्रिस गेल टिममा समावेश छैनन्। तीन टि–२० को शृंखलाअन्तर्गत अघिल्लो दुई खेल अमेरिकाको फ्लोरिडा राज्यमा ३ र ४ अगस्टमा हुनेछ। तेस्रो खेल ६ अगस्टमा वेष्ट इन्डिजको गुयानामा हुँदैछ।

वेष्ट इन्डिज क्रिकेट बोर्डले तेस्रो टि–२० मा १५ सदस्यीय टोलीमा परिवर्तन हुने बताएको छ।

क्रिस गेल क्यानडामा टि–२० लिगमा सक्रिय हुने कारण उनलाई छनोट नगरिएको बताइएको छ। छनोट समितिका कार्यकारी अध्यक्ष रोबर्ट हेन्सले गेलले आफ्नो नाम फिर्ता लिएको जानकारी गराए। उनको स्थानमा बाँया हाते ब्याट्सम्यान जोन केम्पबेललाई टिममा समावेश गरिएको छ।

विश्व कपमा घाइते भएका आन्द्रे रसेललाई पनि टिममा स्थान दिइएको छ। उनले शृंखलाभन्दा पहिले फिटनेस टेस्ट पास गर्नु पर्नेछ। बायाँ हाते स्पिनर खेरी पियरेलाई पनि स्थान दिइएको छ।

विकेटकिपरमा पहिलो रोजाइ निकोलस पुरन रहने छन्। ब्रेमबललाई ‘ब्याक–अप’ को रुपमा छनोट गरिएको छ।

वेष्ट इन्डिज टिम

कार्लोस ब्रेथवेट (कप्तान), सुनिल नरेन, किमो पोल, खेरी पियरे, किरोन पोलार्ड, निकोलस पुरन (विकेटकिपर), रोवमन पावेल, आन्द्रे रसेल, ओसाने थोमस, एन्थनी ब्रेमबल (विकेटकिपर), जोन केम्पबेल, शेल्डन कोटरेल, सिमरोन हेटमायर, इविन लेभिस

 

प्रकाशित मिति: : 2019-07-23 18:03:00

प्रतिकृया दिनुहोस्