जर्मनका पूर्व मिडफिल्डर ओजिलमाथि लन्डनमा चक्कु प्रहार

Agency

इंग्लिस क्लब आर्सनलबाट व्यवसायिक फुटबल खेल्ने जर्मनीका मेसुट ओजिल र उनका समकक्षी एस. कोलासिनेकमाथि लन्डनमा चक्कु प्रहार भएको छ।

उत्तरी लन्डनमा भएको यो घटनामा दुबै खेलाडी ज्यान जोगाएर भाग्न सफल भएको बेलायतबाट प्रकाशित हुने ‘डेली मेल’ ले बताएको छ।

जर्मनीका पूर्व अन्तर्राष्ट्रिय मिडफिल्डर ओजिल आफ्नो कालो रंगको मर्सिडिज हकाइरहेको बेला मोटरसाइकलमा आएका केही व्यक्तिले गाडी रोकेर चक्कु प्रहार गरेका थिए। ओजिलको गाडीमा कोलासिनेक पनि थिए।

गाडी रोकेपछि कोलासिनेक पहिले बाहिर निस्किएका थिए।

आर्सनल क्लबले घटनाको विषयमा जानकारी दिँदै भनेको छ, ‘दुबै खेलाडी सुरक्षित छन्। कसैले व्यक्तिगत फाइदाका लागि आक्रमण गरेको हुन् सक्छ।’ घटना साँझ ५ बजे भएको थियो। केही समयपछि उनीहरूले पुलिसमा रिपोर्ट दर्ता गराएका छन्।

घटनाका प्रत्यक्षदर्शीले टर्की रेस्टुराको बाहिर भएको यो घटनामा ओजिल निकै तनावमा रहेको बताएका छन्। ओजिलले आर्सनलका लागि १ सय ६६ खेल खेल्ने क्रममा ३२ गोल गरेका छन्। यस्तै, कोलासिनेकले ५१ खेलमा २ गोल गरेका छन्।

 

प्रकाशित मिति: : 2019-07-27 00:52:42

प्रतिकृया दिनुहोस्