बमको आशंकापछि ग्लोबल लिग टि–२० को खेल ९० मिनेट रोकियो

Agency

बमको आशंकाका बीच क्यानडामा शुक्रबारदेखि सुरु भएको ग्लोबल लिग टि–२० क्रिकेट प्रतियोगिता निर्धारित समयभन्दा ९० मिनेट ढिलो सुरु भएको रहस्य खुलेको छ। 

मोन्ट्रियल टाइगर्स र विनीपेग होक्सबीचको उद्घाटन खेल अगाडि अज्ञात समूहले ब्राम्पटन मैदानमा बम भएको सूचना दिएपछि खेल केही समयका लागि स्थगित गरिएको थियो।

सुरक्षाकर्मीले सम्पूर्ण सुरक्षाको छानवीन गरेपछि खेल सुरु गर्दा ९० मिनेट ढिलो भएको थियो।

खेल ढिलो हुँदा १२–१२ ओभरको मात्र खेलाइएको थियो। यस प्रतियोगितामा युवराज सिंह, केन विलियम्सन, क्रिस गेल र फाफ डु प्लेसिसलगायत थुप्रै स्टार खेलाडीको उपस्थिति छ।

नेपालका सन्दीप लामिछाने र सोमपाल कामी पनि प्रतियोगितामा समावेश छन्।

उद्घाटन खेल अगाडि कमेन्टेटरले सुरक्षाका कारण खेल ढिलो सुरु भएको जानकारी दिएपनि अन्य कुरा बताएका थिएनन्।

आयोजक कमिटीले भने प्राविधिक कारणले खेल ढिलो भएको बताएको थियो।

रंगशालामा बम भएको सूचना पाएपछि प्रहरीले दर्शकलाई भित्र जानबाट रोकेका थिए।

खेल सुनिल नरेनको ३० बलमा ५९ रनको सहयोगले मोन्ट्रियल टाइगर्सले २४ रनले जितेको थियो।

 

प्रकाशित मिति: : 2019-07-29 00:51:11

प्रतिकृया दिनुहोस्