फिफाको अन्तर्वार्तामा कोहलीले भने, ‘मेरो प्रेरणाको श्रोत क्रिस्टियानो रोनाल्डो।’

Agency

भारतीय क्रिकेट कप्तान विराट कोहलीले युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आफ्नो प्रेरणाको श्रोत भएको बताएका छन्। कोहलीले फिफा डट कमलाई अन्तर्वार्ता दिने क्रममा रोनाल्डोले अनुशाषन र मिहिनेतबाट अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीको चुनौतीलाई परास्त गरेको बताएका छन्।

फिटनेशलाई लिएर रोनाल्डो र कोहली विशेष चर्चामा रहने गर्छन्। भारतीय टिम हाल वेष्ट इन्डिजसँग टि–२० को दुई वटा खेल खेल्न अमेरिकामा छ। फ्लोरिडामा यी दुई टिमको खेल शनिबारदेखि सुरु हुँदैछ।

कोहलीले भने, ‘मेरो लागि रोनाल्डो धेरै माथि छन्। उनको प्रतिबद्धता र अनुशाषन उदाहरणीय छ। उनको सबै खेलमा यो देखिन्छ। म उनी आवद्ध सबै क्लबको समर्थक बन्दै आइरहेको छु। उनले मलाई लगातार प्रेरित गर्दै आइरहेका छन्।’

याे पनि पढ्नुहाेला।

 पहिलो अन्तर्राष्ट्रिय नेपाली महिला खेलाडीको अनुभव

https://nepali.breaknlinks.com/17894

कोहलीले मेसीको तुलनामा रोनाल्डोको प्रदर्शन उत्कृष्ट रहेको दावी गरे। कोहलीले भने, ‘मलाई लाग्छ रोनाल्डोले सबैभन्दा बढी चुनौती भोगेका छन्। जसमा उनी सफल छन्। उनी परिपक्व खेलाडी हुन् र मानिसहरूलाई प्रेरित गर्छन्। उनी कप्तान पनि हुन्। म उनको खेलको फ्यान हुँ। उनमा गजबको आत्मविश्वास छ।’

कोहलीले सानोमा आफू ब्राजिलका रोनाल्डो, रोनाल्डिन्हो, जर्मनीका गोलकिपर ओलिभर कानको खेलबाट निकै प्रभावित रहेको बताए।

उनले १९९८ देखि २००२ सम्मको विश्व कपको खेलहरू याद भएको बताए। उनले त्यतिबेला ब्राजिलको खेल अद्भूत भएको बताए। रोनाल्डोको खेलबाट आफू दंग भएको बताउँदै उनले भने, ‘रोनाल्डो महान खेलाडी हुन्।’

उनले भारतीय फुटबल कप्तान सुनिल क्षेत्रीको खुब तारिफ गरे। कोहलीले भारतको फुटबलले पछिल्लो ३–४ वर्षयता धेरै राम्रो गरेको र युवा प्रतिभाका कारण आशा गर्ने ठाउँ रहेको बताए। ‘सुनिल क्षेत्रीले निकै राम्रो कप्तानी गरिरहेका छन्। उनको नेतृत्वमा भारत विश्व कप खेल्ने टिम बन्ने छ। उनी विजेता र बेजोड व्यक्तित्व भएका मान्छे हुन्,’कोहलीले भने।

 

प्रकाशित मिति: : 2019-08-03 12:07:12

प्रतिकृया दिनुहोस्