मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता प्रदेश १ को आयोजनाका क्रममा एक लाख ८९ हजार रुपैयाँ अपुग भएको आयोजक समितिका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले बताएका छन्।
शुक्रबार विराटनगरमा प्रदेश १ को सार्वजनिक लेखा समितिद्धारा प्रतियोगिताबारे छानबिनका क्रममा एन्फाका केन्द्रीय सदस्य समेत रहेका राईले सो कुरा बताएका हुन्। सार्वजानिक लेखा समितिका सभापति शिवनारायण सिंह गन्गाईले प्रतियोगिताको बजेटमा व्यापक अनियमितता भएको बारे जानकारी मागेका थिए। प्रतियोगितामा अनियमितता नभएको भन्दै बचाउ गरेका अध्यक्ष राईले भने, ‘प्रतियोगिताका लागि प्रदेश सरकार समाजिक विकास मन्त्रालयबाट उपलब्ध एक करोड रकममा सञ्चालन भएको हो। जसमा प्रतियोगिता खर्च नै एक करोड दुई लाख ४९ हजार रुपैयाँ लागेको छ। जसअनुसार रकम अझै अपुग छ।’
सो अपुग एक लाख ८९ हजार रुपैयाँ रकम आयोजक समितिले अखिल नेपाल फुटबल संघ एन्फासँग माग गर्ने उनको भनाइ छ। समितिलाई जानकारी दिदैं सहभागी दुईवटा टोलीबाट दर्ताको रकम १० हजार रुपैयाँ भने प्राप्त नभएको अध्यक्ष राईले बताए। प्रतियोगिता सञ्चालनका विषयमा समितिका सभापति सिंहले तेह्रथुमको टोली अंक बराबर भएको अवस्थामा बाहिरिनुले खेल नियममा सञ्चालन नभएको प्रश्न गरेका थिए। उनले भने, ‘धरानमा सम्पन्न लिगको अन्तिम २ वटा खेलहरु मिलोमतो भएको कुरा र लिगमा समान ८ अंक भएको अवस्थामा तेह्रथुम ४ गोलसहित अग्रस्थानमा हुदाँहुदै कसरी बाहिरिन पुग्यो । यहाँ भएको कमजोरीको जिम्मेवारी कस्को हो ?’
याे पनि पढ्नुहाेस।
कतारमा विश्व कप रगशाला बनाउने क्रममा १४ सय नेपालीकाे निधन भइसकेकाे छ
सो क्रममा यथेष्ठ प्रमाण विना खेल मिलोमतोलाई स्वीकार गर्न नसकिने बताएका राईले तेह्रथुम समान अंक हुदाँहुदै पनि बाहिरिनुमा प्राविधिक त्रुटि भएको हुनसक्ने स्वीकार गरे । उनले भने, ‘प्रतियोगिताका क्रममा म्याच कमिश्नर, म्याच एसेसर हुने भएको हुँदा उहाँहरुकै रिपोर्टको आधारमा आयोजक समितिले अन्तिम निर्णय गरेको हो ।’
यस विषयमा तेह्रथुमको टोलीले २२ गते खेल सकिएपछि आफूलाई फोन सम्पर्कमात्र गरेको र २५ गते छानविनका लागि निवेदन दिएको बताएका राईले भने, ‘छानविनका लागि निर्धारित समयभित्र उजुरी प्राप्त हुदाँ आफू सोही अनुरुप अघि बढ्ने थिएँ । तर, त्यसो पनि नहुदाँ प्रतियोगितालाई रोक्न नसक्ने अवस्थामा थियौं र अघि बढ्यौ ।’
सोही विषयमा सभापति सिंहले प्रतियोगिता सञ्चालन नियमानुसार नभएको भन्ने कुरा छर्लंगै भएको र नयाँ टोली तेह्रथुम आयोजकको कमीकमजोरीको शिकार भएको बताएका थिए ।
छानविन कै क्रममा नेकपाका सांसद एवं समिति सदस्य कुलप्रसाल लिम्बू साम्बाले प्रदेश कै गरिमामय प्रतियोगिता विवादरहित बन्न नसकेको स्पस्ट पारे । उनले भने, ‘लिग भयो तर बढी बदनामी भयो । अंकका आधारमा समेत स्पस्ट रुपमा विजयी हुदाँहुदै तेह्रथुम निकालियो। एन्फाले नियमानुसार काम गर्न सकेन् ।’
त्यसैगरि, उनले प्रतियोगितामा एन्फाबाट समावेश हुनुपर्ने ३३ लाख रकममा अनियमितता भएको आशंका व्यक्त गरेका थिए । प्रतियोगितामा एन्फाले आफ्नो संघ मातहतका प्रत्येक जिल्लालाई लिगका लागि ३ लाख रुपैयाँ छुटाउनु र संघ बाहिरको जिल्लालाई त्यसबाट विमुख गराउनु न्याय पक्ष नभएको बताएका लिम्बूले भने, ‘यहाँ सहभागि नयाँ टोली निरुत्साहित भएका छन् । नयाँ टोलीलाई उर्जा दिनुपर्नेमा निरुत्साहित बनाइयो । प्रदेश सरकारले उपलब्ध गराइएको रकमबाट भए पनि ती जिल्लालाई तयारी खर्चको रकम उपलब्ध गराइनु पथ्र्यो ।’
याे पनि पढ्नुहाेस।
नेपालकाे पहिलाे अन्तर्राष्टूिय महिला खेलाडीकाे अनुभव:चीनमा रातारात कट्टु सिलाएर खेल्न गइयाे।
सोही क्रममा संखुवासभाका नेकपा सांसद तुलसीप्रसाद न्यौपानेले एन्फाले मुख्यमन्त्री कप जस्तो प्रतिष्ठित प्रतियोगितामा सहभागि टोलीलाई तयारी खर्च दिने क्रममा काखापाखा गरेको बताएका थिए । प्रदेशको गरिमा र चासोको प्रतियोगितामा नियममै त्रुटि भएको उनको भनाइ थियो ।
करिब २ घण्टा चलेको छानविनका क्रममा समितिले आयोजक पक्षलाई प्रतियोगिताको खर्च विवरण, रकम भुक्तानी, बैंक स्टेटमेन्ट, लगायतका कागजपत्र माग गरेको थियो । सोही अनुसार राईले लेजर, प्राविधिक रिर्पोट, खर्च भौचरसहित १७ वटा कागजपत्र समितिलाई बुझाएका थिए । मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता असार १६ देखि ३१ गते सम्म भएको थियो । १४ जिल्लाको सहभागितामा पहिलो चरणको लिगको खेलहरु उदयपुर, धरान, र इलाममा खेलाइएको थियो । दोश्रो चरणको खेल र फाइनल विराटनगरमा हुने कार्यक्रम वर्षाका कारण धरानमा सारिएको थियो । जसमा मोरङको बेलबारी फुटबल क्लबलाई हराउदै झापाको सैनिक युथ क्लबले उपाधि हात पारेको थियो ।