जर्मन च्याम्पियन बायर्न म्युनिखले प्री-सिजनको मैत्रीपूर्ण खेलमा तल्लो श्रेणीको जर्मन क्लब रोताक एगर्नलाई २३-० को फराकिलो अन्तरले हराएको छ।
बायर्नको जितमा ५ जना खेलाडीले ह्याट्रिक पूरा गर्दै १० खेलाडीले गोल गरे। उसका लागि मिडफिल्डर कोरेन्टिन टोलिसोले सर्वाधिक ४ गोल गर्दा एक गोल भने आत्मघाती गोल भएको थियो।
बायर्नका लागि कोरेन्टिन टोलिसोसँगै रोबर्ट लेवानडोस्की, थोमस मुलर, गोरेट्जका र ओकेरेले ह्याट्रिक गरेका थिए।
खेलको छैठौं मिनेटमा बायर्नले रेनाटो सान्चेसको गोलमा अग्रता लिएको थियो । त्यसको एक मिनेटमा नै लिओन जुआकुले अग्रता दोब्बर पारे ।
रोबर्ट लेवानडोस्कीले नवौं मिनेटमा स्कोर ३-० बनाए । लेवानडोस्कीले त्यसपछि १६ औं र २९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।
रेनाटो सान्चेसले २० औं तथा सर्ज गनाब्रीले ३४ औं मिनेटमा गोल गरे। टोलिसोले ३८ औं मिनेटदेखि ४२ औं मिनेटसम्म १-१ मिनेटको अन्तरमा ४ गोल गर्दै बायर्नलाई पहिलो हाफमा ११-० को अग्रता दिलाए ।
दोस्रो हाफमा थोमस मुलरले ४९ औं मिनेटमा गोल गरे । त्यसपछि क्वासी ओकेरे र सर्प्रित सिंहले ५५ औं र ५९ औं मिनेटमा गोल गरे। ६१ औं मिनेटमा मिलर तथा गोरेट्जकाले ४ मिनेटको अन्तरमा २ गोल गरेपछि स्कोर १७-० पुग्यो।
७३ औं मिनेटमा लार्स दिट्रिकले आत्मघाती गोल गरे भए ओकेरेले ७६ औं मिनेटमा स्कोर १९-० बनाए ।
गोरेट्जकाले ७९ औं मिनेटमा ह्याट्रिक पुरा गर्दा ८१ औं मिनेटमा एलेक्जेन्डर नोलेन्बर्गरले खाता खोले।
ओकेरेले ८२ औं तथा मुलरले ८८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।
गत सिजन यसै टोलीविरुद्ध बायर्नले मैत्रीपूर्ण खेलमा २०-२ को जित निकालेको थियो।