विन्नीपेग हक्सले ग्लोबल टी-२० क्यानडाको दोस्रो संस्करणको उपाधि जितेको छ। नेपाली खेलाडी सोमपाल कामि आबद्ध विन्नीपेगले सोमबार बिहान भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन भानकुभर नाइट्सलाई सुपर ओभरमा हराउँदै उपाधि जितेको हो। यद्यपी नेपाली बलर सोमपाल बेन्चमै बसेका थिए।
टस हारेर ब्याटिङ गरेको विन्नीपेगले दिएको १९३ रनको लक्ष्य पछ्याउने क्रममा भानकुभर नाइट्सले २० ओभरमा ६ विकेट गुमाएर १९२ रननै बनाएपछि खेल बराबरी भएको थियो।
त्यसपछि खेल सुपर ओभरमा पुग्यो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको भानकुभरले दिएको १० रनको लक्ष्य पार गर्दै विन्नीपेगले पहिलो पटक उपाधि जितेको हो।
यस्तो रह्यो सुपर ओभर
सुपर ओभरमा पहिले ब्याटिङ गर्ने क्रममा भानकुभरका लागि आन्द्रे रसेल र रस्सी भान डर डुसेन ब्याटिङ गर्न आए। कलिम सानाले विन्नीपेगको लागि बलिङ गरे।
आन्द्रे रसेलले सुपर ओभरको पहिलो बलमा छक्का प्रहार गरे। दोस्रो बलमा रसेलले १ रन लिए। तेस्रो बलमा लेग बाइको रुपमा डुसेनले स्ट्राइक परिवर्तन गरे। चौथो बलमा रसेल डिप मिड विकेटमा क्याच आउट हुन पुगे। त्यसपछि कप्तान शोयब मलिक ब्याटिङमा आए।
पाँचौ बलमा कलिमले गरेको कम्मरभन्दा माथिको बलमा मलिकले ब्याटमा लगाउन सकेनन्। उक्त बललाई अम्पायरले नो बल पनि दिएनन् जुन कम्मर भन्दा निकै माथि थियो। अम्पायरले एक आपसमा छलफल पनि गरेनन्। बाइको रूपमा १ रनमै भानकुभरले चित्त बुझाउनु पर्यो।
अन्तिम बलमा डुसेन क्याच आउट भए। २ विकेट गुमाएर भानकुभरले ९ रन मात्रै बनाउन सक्यो र १० रनको लक्ष्य प्रस्तुत गर्यो।
१० रनको जवाफी लक्ष्य पछ्याउने क्रममा विन्नीपेगको लागि क्रिस लिन र शैमन अनवर ब्याटिङ गर्न आए भने आन्द्रे रसेल बलिङमा आए।
ओभरको पहिलो बलमा क्रिस लिनले १ रन लिए। दोस्रो बलमा शैमन अनवरले १ रन लिए। तेस्रो बलमा बाई रनको रुपमा विन्नीपेगले ४ रन पायो, विकेटकिपरले रसेलले गरेको डट बललाई समात्न सकेनन् जुन सहजै समात्नुपर्ने खालको थियो।
त्यसलगत्तै बलमा क्रिस लिनले थर्डम्यानतर्फ चौका प्रहार गर्दै खेल जिताए।
यसअघि १९३ रनको लक्ष्य पछ्याउने क्रममा कमजोर सुरूवात गरेको भानकुभरले एक समय आठौं ओभरमा ५३ रन बनाउँदै महत्वपूर्ण ४ विकेट गुमाईसकेको थियो। त्यसपछि कप्तान शोयब मलिक र साद बिन जाफरले पाँचौ विकेटको लागि ८६ रनको साझेदारी गर्दै टिमलाई उकासे।
मलिक १७ औं ओभरमा रन आउट हुनुअघि ३६ बल खेल्दै ६ चौका र ३ छक्का मदतले ६४ रन प्रहार गर्दै उत्कृष्ट इनिङ खेले।
अन्तिम ३ ओभरमा जित्नका लागि ५३ रन आवश्यक रहेको बेला ब्याटिङमा आएका आन्द्रे रसेलले १८ औं ओभरमा २ छक्का तथा १९ औं ओभरमा २ चौका र २ छक्का प्रहार गर्दै जित दिलाउने प्रयास गरे।
अन्तिम ओभरमा जितका लागि १७ रन आवश्यक हुँदा कलिम सानाले गरेको ओभरको दोस्रो र तेस्रो बलमा छक्का प्रहार गर्दै रसेलले जितको समीकरण २ बलमा ३ रन बनाए। तर, त्यसपछि पाँचौ बलमा रसेलले रन बनाउन सकेनन्। अन्तिम बलमा रसेलले लङअन प्रहार गरेको बलमा २ रन मात्रै लिन सक्दा खेल बराबरी भयो।
रसेलले मात्र २० बलमा अविजित ४६ रन बनाउने क्रममा ३ चौका र ५ छक्का प्रहार गरेका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विन्नीपेगका लागि ओपनर युएईका शैमन अनवरले सर्वाधिक ९०, क्रिस लिनले ३७ तथा जेपी डुमिनिले ३३ रन बनाएका थिए।
प्रतियोगितामै उत्कृष्ट लयमा रहेका युएई ब्याट्सम्यान अनवरले ४५ बलमा ८ चौका र ७ छक्का प्रहार गरेका थिए। पहिलो विकेटको लागि उनले लिनसँग ६ ओभरमा ७३ रनको तथा तेस्रो विकेटको लागि डुमिनिसँग ८१ रनको साझेदारी गरेका थिए।
भानकुभर नाइट्सका लागि आन्द्रे रसेलले सर्वाधिक ४ विकेट लिँदा अन्तिममा विन्नीपेगले लगातार विकेट गुमाउन पुगेको थियो।
४ ओभरमा उनले मात्र २९ रन खर्चिए। अलि खान र रायड पठानले समान २/२ विकेट लिए।
प्रतियोगिताको लिग चरणको पहिलो ५ खेलमा विन्नीपेग पाँचौ स्थानमा थियो। दोस्रो चरणको भानकुभर बिरुद्धको खेल बर्षाले रोकिँदा १ अंक पाएपछि अंकतालिकामा चौथो स्थानमा रहँदै विन्नीपेग प्ले-अफ प्रवेश गरेको थियो।
पहिलो इलिमीनेटर विन्नीपेगले डी/एल मेथड मा युवराज सिंह कप्तानीको टोरोन्टो नेसनल्सलाई हरायो।
मैदान अध्यारो हुँदा खेल बीचमै रोकिन पुगेको थियो जसकारण डीएल मेथडमा २ रनले विन्नीपेग विजयी भएको थियो।
त्यसपछि दोस्रो क्वालिफायरमा विन्नीपेगले ब्राम्पटन वुल्भ्सलाई रोमान्चक खेलमा अन्तिम बलमा ७ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो।