रोवर्ट लेवान्डोस्कीको ह्याट्रिकले साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा पहिलो जित निकालेको छ ।
पहिलो खेलमा हर्था बर्लिनसँग २–२ गोलको बराबरी खेलेको बायर्नले शनिबार राति घरेलु टोली साल्केमाथि ३–० को सहज जित निकालेको हो।
बायर्नको सहज जितमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे। उनले अघिल्लो खेलमा पनि दुई गोल गरेका थिए ।
खेलको २०औं मिनेटमा लेवान्डोस्कीको पेनाल्टी गोलबाट बायर्न खेलमा अघि बढेको थियो। जोनजोइ केन्नीले किङ्सले कोमानलाई पेनाल्टी बक्समा लर्डापछि प्राप्त पेनाल्टीमा लेवान्डोस्की चुकेनन् ।
पहिलो हाफमा १–० को अग्रता लिएको बायर्नले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो। ५०औं मिनेटमा लेवान्डोस्कीले करिव २५ यार्डमा प्राप्त फ्रिकिकमा उत्कृष्ट गोल गर्दै बायर्नलाई २–० ले अघि बढाए ।
७५औं मिनेटमा किङ्सले कोमानको पासमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गर्दै बायर्नलाई ३–० को सहज जित दिलाए ।
साल्केविरुद्धको खेलमा यसै सिजन बायर्नमा अनुबन्ध भएका फिलेपे कौटिन्हो र इभान पेरिसिसले बुन्डेस लिगामा ‘डेब्यू’ गरेका थिए। उनीहरु ५७औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए ।
यो जितसँगै बायर्नले दुई खेलबाट ४ अंक जोडेको छ। पराजित साल्के १ अंक जोडेर १२औं स्थानमा छ ।
बार्यनले गत सिजन लगातार सातौंपल्ट जर्मन बुन्डेसलिगाको उपाधि जितेको थियो ।