रियलको बराबरीमा बेलको दुई गोल

तस्बिरः एजेन्सी

ग्यारेथ बेलले दुई गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत आइतबार रियल म्याड्रिडले भिल्लारियललाई २-२ को बराबरी रोक्दै अंक बाँडेको छ।

घरेलु टोली भिल्लारियलले खेलमा दुई पटक अग्रता बनाए पनि बेलले दुवै पटक बराबरी गोल फर्काएका थिए।

खेलको १२ औं मिनेटमा जेरार्ड मोरेनोले भिल्लारियललाई सुरूवाती अग्रता दिलाए। पहिलो हाफको अन्तिम मिनेटमा ड्यानी कार्भाजलको पासमा बेलले बराबरी गोल फर्काएका थिए।

दोस्रो हाफको ७४ औं मिनेटमा मोइ गोमेजले गोल गर्दै खेलमा पुनः घरेलु टोली भिल्लारियललाई अगाडि बढाए। तर निर्धारित समयभन्दा ४ मिनेट अघि बेलले लुका मोड्रिचको पासमा गोल गर्दै हार टार्न सफल रहे।

दुई गोल गरेका बेल खेलको अन्तिम दुई मिनेटको अन्तरमा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

यस बराबरीसँगै रियल ३ खेलमा ५ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ। शीर्षस्थानमा ३ खेलमा ९ अंक जोडेको एट्लेटिको म्याड्रिड छ।

प्रकाशित मिति: : 2019-09-02 07:49:37

प्रतिकृया दिनुहोस्