एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज घरेलु टोली श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरूवात गर्दैछ। खेल नेपाली समय अनुसार बिहान १०:१५ बजे पछि कोलम्बोस्थित रणसिंघे प्रेमदाशा क्रिकेट मैदानमा सुरू हुने छ।
टेष्ट राष्ट्र श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनको यात्रा बलियो बनाउन चाहन्छ। तर पछिल्ला पाँच खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ।
नेपाललाई हराउँदै सुखद सुरुवात गर्ने सोच बनाएको श्रीलंकाले अहिलेसम्म नेपालसँग पराजय व्यहोरेको छैन। सन् २०१६ मा श्रीलंकामानै भएको यू१९ एसिया कपमा नेपालले कडा टक्कर दिए पनि एक रनले पराजित भएको थियो।
एसिया कप अघि तयारी स्वरुप नेपालले श्रीलंकाका तीन स्थानीय टोलीसँग अभ्यास खेल खेलेको थियो । जसमा २ मा हार र १ मा जितको नतिजा निकालेको थियो।
नेपालका लागि कप्तान रोहित कुमार पौडेल, स्पिनर सागर ढकाल र अलराउन्डर पवन सरार्फ प्रमुख हतियार हुन्। त्यस्तै शीर्ष खेलाडी भिम सार्की, कमल सिंह ऐरी,आशिफ शेख र हरि बहादुर चौहानको प्रर्दशन पनि नेपाललाई महत्वपूर्ण हुने छ ।
विश्वकपको अनुभव रहेको अलराउन्डर निपुन धनञ्जय श्रीलंकाका कप्तान हुन्। निपुनकै कप्तानीमा गत वर्ष श्रीलंका एसिया कपको फाइनलमा पुगेको थियो । त्यस्तै प्रथम श्रेणी खेलिसकेका कामिल मिश्रा र रोहन सञ्जय पनि नेपाललाई घातक बन्न सक्छन् ।
२०१७को यु-१९ एसिया कपमा नेपालले भारतलाई पराजित गर्दै पहिलो पटक सेमीफाइनल प्रवेश गर्दै इतिहास रचेको थियो। गत वर्ष २०१८ र त्यो अघिको संस्करणमा भने नेपाली युवा टिमले पहिलो चरण पार गर्न सकेको छैन। यो पटक टेस्ट राष्ट्रलाई पराजित गर्ने र सेमीफाइनल पुग्ने लक्ष्यको साथ नेपाली टिम श्रीलंका गएको हो।
आजको अर्को खेलमा बंगलादेशले यूएईसँग खेल्ने छ । बिहीबार पहिलो दिन समूह ए को खेलमा भारतले कुवेतलाई ७ विकेटले हराउँदा पाकिस्तान अफगानिस्तानसँग ८५ रनले स्तब्ध भयो।
प्रतियोगितामा नेपालको समूह ‘बि’ मा आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन्। यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान , अफगानिस्तान र कुवेत रहेको छ। नेपालको दोस्रो खेल बंगलादेशसँग आइतबार र तेस्रो खेल युएईसँग मंगलबार खेल्नेछ।
समूह चरणको खेल पछि दुवै समूहबाट उत्कृष्ट २ हुने टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्।