श्रीलंकामा जारी एसीसी यु -१९ एसिया कप अन्तर्गत नेपालले दोस्रो खेलमा आज बंगलादेशको सामना गर्दैछ।
पहिलो खेलमा आयोजक राष्ट्र श्रीलंकासँग पराजित भएपछि नेपाली टिमलाई सेमिफाइनल पुग्ने सम्भावना जीवित राख्न बंगलादेशलाई हराउनैपर्ने हुन्छ।
आज नेपालले बंगलादेशवमाथि जित निकाले अघिल्लो चरणको सम्भावना कायमै रहनेछ। बंगलादेशलाई पराजित गरेको खण्डमा अन्तिम खेलमा युएईलाई नेपालले पराजित गरे नेपाल सेमिफाईनल पुग्ने सम्भावना रहन्छ। तर, पराजित भए सेमिफाइनल खेल्ने सम्भावना सकिनेछ।
नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध कमजोर प्रर्दशन गरेको थियो । श्रीलंकासँग नेपालका ७ ब्याट्सम्यानलले दोहोरो अंकमा रन जोड्न सकेनन् । रित गौतमले ५५ र कप्तान रोहित कुमार पौडेलले ४७ रन प्रहार गर्न बाहेक अन्य ब्याट्सम्यानको प्रर्दशन चिन्ताजनकन थियो। बलिङमा पनि नेपालले अपेक्षाकृत प्रर्दशन गर्न सकेन ।
श्रीलंकासँग ५ विकेटले पराजित हुने क्रममा नेपालले दिएको १५९ रनको लक्ष्य घरेलु टिमले ५ विकेट गुमाएर पुरा गरेको थियो।
यता उपाधिको दाबेदार बंगलादेशले आफ्नो पहिलो खेलमा युएईलाई ६ विकेटले हराएको थियो। आज नेपाललाई हराए सेमिफाइनलमा स्थान पक्का गर्नेछ।
नेपालले बंगलादेशसँग पछिल्लो पटक २०१७ मा मलेसियामा आयोजित यु-१९ एसिया कपमा प्रतिस्पर्धा गरेको थियो।
प्रतिस्पर्धात्मक खेलमा बंगलादेश २ विकेटले विजयी भएको थियो। पहिले ब्याटिङ गर्दै नेपालले दिएको १६८ रनको लक्ष्य बंगलादेशले ८ विकेट गुमाएर पुरा गरेको थियो। उक्त खेलमा वर्तमान टिममा रहेका रोहित पौडेलले ४० तथा भिम शार्कीले ४४ रन बनाएका थिए। बलिङमा कमल ऐरी र सन्दिप लामिछानेले २/२ विकेट लिएका थिए।
यु-१९ एसिया कप अघि नेपालले बंगलादेशमा ३ वटा एकदिवसीयको सिरिज खेलेको थियो। सिरिजमा २-१ ले पराजित भएता पनि नेपालले तेश्रो खेलमा बंगलादेशलाई पराजित गरेको थियो।
आसिफ शेखले उत्कृस्ट ब्याटिंग गर्दा नेपालले बंगलादेशलाई हराएको थियो।
बंगलादेशले दिएको २२६ रनको लक्ष्य नेपालले ४ विकेट मात्र गुमाएर पुरा गरेको थियो। जितमा आसिफ शेखले सर्वाधिक ९० तथा जितेन्द्र ठकुरीले ४५ रन बनाएका थिए भने बलिङमा शाहब आलमले ३ विकेट लिएका थिए। त्यस अघि २ वटा खेलमा भने नेपाल क्रमश ३ विकेट र १२३ रनले पराजित भएको थियो।
पहिलो खेलको प्रर्दशन अनुसार नेपालले बंगलादेशविरुद्ध आफ्नो प्लेइङ ११ मा केहि फेरबदल गर्न सक्छ ।
बंगलादेशलाई पराजित गर्ने हो भने नेपालले जिम्मेवारीपूर्वक ब्याटिङ गर्नुका साथै तल्लो क्रमले रन बनाउनु पर्नेछ।
श्रीलंकाबिरुद्ध नेपाली तल्लो मध्य क्रमले रन बनाउन सकेको भए खेलको नतिजा अर्को हुन सक्थ्यो। सुरूवाती विकेट चाडै गुमाउनु पनि नेपाली ब्याट्सम्यान दबाबमा हुनुको कारण थियो।
पी सारा ओभल मैदानमा नेपाली समय अनुसार बिहान ९:४५ बजेबाट खेल सुरु हुनेछ।
आजै हुने समूह ‘बि’ अन्तर्गतकै श्रीलंका र युएई बीचको खेलमा श्रीलंकाले जित हात पारे श्रीलंका सेमिफाइनल प्रवेश गर्नेछ।
यसअघि समूह ए बाट लगातार अपराजित भारत र अफगानिस्तान एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन्।