लक्ष्मीमार्ग गोल्डकपको पुरस्कार राशि बढाइयो, असोज ४ बाट प्रतियोगिता

बिएल।

तेस्रो लक्ष्मीमार्ग अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि दोब्बर बढाइएको छ ।

पूर्वकै चर्चित मध्येको यस प्रतियोगिताको तेस्रो संस्करण आगामी असोज ४ देखि ११ गतेसम्म आयोजना हुँदैछ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित मैदानमा डाँगीहाट युथ क्लबले आयोजना गर्ने प्रतियोगिताको विजेता र उपविजेता हुने टिमले पाउने पुरस्कार रकम बढाइएको हो ।

यस वर्ष प्रथम हुने टिमले पाँच लाख र द्धितिय हुने टिमले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष विक्रम वान्तवा राईले बताए । गत वर्ष सम्पन्न दोस्रो संस्करणमा प्रथम हुने टिमलाई दुई लाख २२ हजार र द्धितिय हुने टिमलाई एक लाख ११ हजार रुपैयाँ नगद पुरस्कार दिइएको थियो ।

एसिड पीडित मुस्कानलाई अस्पतालमा भेट्दै मुख्य मन्त्री राउतले भने- उपचारको सम्पूर्ण जिम्मा मुख्य मन्त्री कार्यालयको

यस वर्ष मुख्य प्रायोजक बुद्ध एयरले पाँच लाख र सहप्रायोजक टुबोर्ग वियरले तीन लाख रुपैयाँ सहयोग गर्ने छन् । त्यस बाहेक विभिन्न संघ संस्था, स्थानीय तह, लक्ष्मीमार्गका स्थानीय तथा विदेशमा बसोबास गर्दै आएकाहरुले सहयोग गर्ने अध्यक्ष राईको भनाइ छ ।

तेस्रो संस्करणका बारेमा जानकारी दिन सोमबार लक्ष्मीमार्गमा आयोजित पत्रकार सम्मेलनमा राईले खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।

उनले यस प्रतियोगितासँगै मोरङमा २०७६ सालको गोल्डकपको सुरुवात हुने पनि बताए । फुटबलको विकास र राष्ट्रका गहनाका रुपमा चिनिने खेलाडी उत्पादनका लागि स्थानीय स्तरमै सहयोग जुटाउँदै प्रतियोगिता आयोजनाको तयारीलाई तीव्र पारिएको उनको भनाइ छ ।

याे पनि: मृत्यु शैंयाबाट उठेका बडीबिल्डर सुकदेव कार्की

प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा विभिन्न टिममार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी र ‘ए’ डिभिजन टिमले सहभागिता जनाउने जानकारी राईले दिए । उनका अनुसार झापा–११, नेपाल पुलिस क्लब, एपीएफ काठमाडौं, रोयल क्लब भारत, रुपन्देही–११, आयोजक मोरङ, सुनसरी–११ र मदन भण्डारी स्र्पोट्स एकेडेमी काठमाडौंले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

मोरङ फुटबल एकेडेमी उर्लाबारी गत वर्षको विजेता टिम हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नियम अनुसार ‘घ’ श्रेणीमा प्रतियोगिता परेका कारण यस गोल्डकपमा गतवर्षको विजेता टोलीलाई समेट्न नसकिएको जानकारी अध्यक्ष राईले दिए ।

गतवर्ष मोरङले झापाको बिर्तामोडलाई पराजित गर्दै उपाधि रक्षा गरेको थियो । यसपटक मोरङका खेलाडीलाई समेट्दै आयोजक डाँगीहाट युथ क्लबले सहभागिता जनाउने अध्यक्ष राईले स्पष्ट पारे ।

प्रतियोगिता सञ्चालनका लागि मैदान व्यवस्थापन तथा दर्शकको सुरक्षा र उपस्थितीलाई मध्यनजर गर्दै प्यारापिट निर्माणको काम धमाधम भइरहेको छ । खेल सफल पार्न विभिन्न उपसमिति गठन गरिएका छन् ।

विक्रम वान्तवा राईको अध्यक्षतामा बनेको मूल आयोजक समितिको खेल संयोजकमा अजित अधिकारी छन् । राजेश बस्नेतको संयोजकत्वमा आर्थिक उपसमिति, हिमांशु रायको संयोजकत्वमा लेखा समिति, शिव काफ्लेको संयोजकत्वमा अतिथी सत्कार, भाईकुमार गुरुङको संयोजकत्वमा विदेश विभाग, शम्भु बस्नेतको संयोजकत्वमा खाजा नास्ता व्यवस्थापन, सुधिर वान्तवाको संयोजकत्वमा प्रचारप्रसार, तारामणि राईको संयोजकत्वमा खेल मैदान व्यवस्थापन, नरेन्द्र बस्नेतको संयोजकत्वमा मिडिया व्यवस्थापन तथा सञ्चार, बसन्ती सुनुवारको संयोजकत्वमा महिला स्वयं सेवक उपसमिति बनाइएको छ ।

भारतले यसरी कब्जा गर्यो- कालापानीका तीन नेपाली गाउँ

प्रतियोगितामा म्याद अफ दी म्याच, म्यान अफ दी सिरिज, उत्कृष्ट डिफेन्स, विङ्स, फरवार्ड, गोलरक्षक, मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष राईले बताए ।

यस वर्ष ३३ लाख आम्दानी र ३१ लाख चार हजार रुपैयाँ खर्च हुने हुने अनुमान आयोजकले गरेको छ । गत वर्ष प्रतियोगिताबाट एक लाख पाँच हजार रुपैयाँ नाफा भएको थियो । प्रतियोगिताबाट भएको नाफा रकम क्लबको भवन निर्माणमा लगाइएको छ । यस वर्षको प्रतियोगिताबाट प्राप्त मुनाफा खेलाडी एवं खेलकुद क्षेत्रको विकासमा लगाइने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: : 2019-09-09 15:27:30

प्रतिकृया दिनुहोस्