आगामी असोज अन्तिम साता क्विन्स इभेन्टले आयोजना गर्ने वुमेन च्याम्पियन्स लिग टी-२० हुने भएको छ।
आयोजक क्विन्सले सोमबार प्रेस बिज्ञप्ति मार्फत असोज २९ गते देखि कात्तिक ७ ( अक्टोबर १६-२४ ) गतेसम्म आयोजना हुने मिति सार्वजनिक गरेको हो।
५ फ़्रेन्चाइज् टिम सहभागी हुने प्रतियोगिताको यसै वर्ष बैशाखमा सम्पन्न ड्राफ्ट मार्फत खेलाडी चयन कार्यक्रम सम्पन्न भइसकेको छ।
यसअघि जेठमा आयोजना हुने घोषणा गरिए पनि अन्य प्रतियोगिता जुध्दा प्रतियोगिताको मिति सारिएको थियो।
नेपालमा अर्को महिला फ़्रेन्चाइज् टि-२० लिग ‘वुमेन्स टि-२० लिग’ को पनि घोषणा भएर अक्सन सम्पन्न भैसके पनि आयोजना मिति पटक पटक सर्दै आएको छ।
क्विन्सले आयोजना गर्ने पोखरा प्रिमियर लिगको भने अझै अधिकारिक मिति घोषणा भएको छैन। प्रतियोगिता तिहार पछि आयोजना हुने सम्भावना रहेको छ।
यस अघि पोखरामा पोखरा प्रिमियर लिग ( पीपीएल टि-२० ) समेत आयोजना गरिसकेको इभेन्टले वुमेन्स लिग भने किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा आयोजना गर्ने छ।
क्विन्स इभेन्ट म्यानेजमेन्टमा राष्ट्रिय क्रिकेट टिम कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र छुम्बी लामा संलग्न रहेका छन्। पीपीएल टि-२० मा ६ शहरको प्रतिनिधित्व गर्ने टिमहरु सहभागी थिए।
लिगमा क्यापिटल्स रोयल्स काठमाडौँ , ललितपुर फाल्कोन्स, पोखरा पल्टन, बिराटनगर टाईटन्स र चितवन राइनोज गरि कुल ५ टिम सहभागी रहेका छन्। क्रमशः काठमाडौँको रुबिना क्षेत्री, ललितपुरको नेरी थापा, पोखराको सिता राना मगर, बिराटनगरको सरिता मगर र चितवनको इन्दु बर्मा मार्की खेलाडी रहेका छन्।