आगामी २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ चीनमा हुने एसियन कपको छनोटको दोस्रो चरणको खेलमा एसियन पावर हाउस अस्ट्रेलियाले कुवेतलाई सहजै हराएको छ।
नेपाल रहेको समूह ‘बी’ मा अस्ट्रेलियाले कुवेतलाई ३–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ।
कुवेतको घरेलु मैदानमा भएको खेलमा अष्ट्रेलियाले पहिलो हाफमै सबै तीन गोल गरेको थियो।
अस्ट्रेलियालाई जिताउन म्याथ्यु लेक्कीले दुई तथा आरोन मोयले १ गोल गरेका थिए।
अल कुवेत स्पोर्टस् क्लब स्टेडियममा मंगलबार राति भएको खेलमा अस्ट्रेलियाले खेलको सातौं मिनेटमा म्याथ्यु लेक्कीको गोलबाट अग्रता लिएको थियो। ३०औं मिनेटमा लेक्कीले व्यक्तिगत दोस्रो गोल गर्दै अस्ट्रेलियाको अग्रता दोब्बर बनाए।
३८औं मिनेटमा आरोन मोयले गोल गरेपछि अस्ट्रेलिया पहिलो हाफमै ३–० ले अघि बढेको थियो।
दोस्रो हाफमा उत्कृष्ट डिफेन्स खेलेको कुवेतले अष्ट्रेलियालाई रोकेको थियो।
दुवै टोलीले गोलको प्रयास गरेपनि गोल निस्कन नसक्दा अस्ट्रेलिया ३–० ले विजयी भयो।
पहिलो खेलमा नेपाललाई ७-० को फराकिलो अन्तरमा हराएको कुवेत २ खेलबाट १ हारसहित शीर्ष स्थानमा कायमै छ।
यही समूहमा नेपाल समान २ खेलबाट ३ अंक जोडेर चौथो तथा एक खेलबाट ३ अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा छ। अंकविहीन चाइनिज ताइपेइ पुछारमा छ । नेपालले मंगलबार चाइनिज ताइपेइलाई २–० गोल अन्तरमा हराउँदै अंक जोड्न सफल भएको हो।
विश्वकपको लागि एसिया क्षेत्रको अन्य खेलको नतिजाहरू
समूह ‘ए’ :
गुआम विरुद्ध फिलिपन्स (१–४)
माल्दिभ्सविरुद्ध चीन (०–५)
समूह ‘बी’ :
चाइनिज ताइपेई विरूद्ध नेपाल (०-२)
क्वेत विरूद्ध अष्ट्रेलिया (०-३)
समूह ‘सी’
कम्वोडिया विरुद्ध बहराइन (०–१)
हङकङविरुद्ध इरान (०–२)
समूह ‘डी’
सिंगापुरविरुद्ध प्यालेस्टाइन (२–१)
यमनविरुद्ध साउदी अरेविया (२–२)
समूह ‘ई’
अफगानिस्तानविद्ध बंगलादेश (१–०)
कतार विरुद्ध भारत (०–०)
समूह ‘एफ’
मंगोलियाविरुद्ध ताजिकिस्तान (०–१)
म्यानमारविरुद्ध जापान (०–२)
समूह ‘जी’
इन्डोनेसियाविरुद्ध थाइल्यान्ड (०–३)
मलेसियाविरुद्ध युएई (१–२)
समूह ‘एच’
श्रीलंकाविरुछ नर्थ कोरिया (०–१)
तुर्केमिनिस्तनविरुद्ध साउथ कोरिया (०–२)