लिगलिगकोट–गोरखा दरबार म्याराथुन दौडको उपाधि गरुङलाई

तस्बिरः बिएल

गोरखाको ऐतिहासिक क्षेत्र लिगलिगकोट–सिरानचोक हुँदै गोरखा दरबारसम्मको खुल्ला म्याराथुन दौडको उपाधि भीमबहादुर गुरुङले जितेका छन्।

गोरखा आरुघाट गाउँपालिकाको थुमीका नेपाली सेनाका पूर्व गुरुङले आज बिहान भएको प्रतियोगितामा निर्धारित ४२ किलोमिटर दुरी ३ घण्टा १७ मिनेट २ सेकेण्डमा पूरा गरे।

प्रतियोगितामा गरुङले ११३ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रथम ‘लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथुन दौड’ को उपाधि जितेका हुन्। जितसँगै गुरुङले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा रुकुमका दुर्गाराज बुढा दोस्रो भए। उनले निर्धारित दुरी ३ घण्टा १५ मिनेट ४५ सेकेण्डमा पूरा गरेको आयोजकले जनाएको छ। यसैगरी प्रतियोगितामा नेपाली सेनाका सविन तामाङ तेस्रो भएका छन्।

तामाङले निर्धारित दुरी ३ घण्टा ३० मिनेट २ सेकेण्डमा पूरा गरे। प्रतियोगितामा दोस्रो भएका बुढाले एक लाख र तेस्रो हुन सफल तामाङले रु ७५ हजार नगद पुरस्कार प्राप्त गरे।

एक सय १४ जनाको सहभागिता रहेको प्रतियोगितामा चौथो, पाँचौ, छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ हुनेलाई क्रमशः रु ५० हजार, रु ३५ हजार, रु ३० हजार, रु २० हजार, रु १५ हजार र रु १० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिएको छ।

इतिहास र पर्यटनको प्रबद्र्धन गर्न नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा गोरखाको ऐतिहासिक क्षेत्रको प्रचार–प्रसारका लागि प्रतियोगिताको आयोजना गरिएको सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए।

अध्यक्ष गुरुङले विसं १६१६ भदौ २५ गते द्रव्य शाहलाई पस्लाङमा राज्याभिषेक गरेर गोरखा राज्यको स्थापना गरिएको सम्झनामा आज प्रतियोगिता गरिएको बताए। नेपाल एकीकरणको उद्गमस्थल गोरखाको पालुङटार नगरपालिकाको लिगलिगकोटदेखि सिरानचोक गाउँपालिकाको चित्रेपोखरी, गोरखा नगरपालिकाको छेवेटार हुँदै रामशाहको चौताराबाट गोरखा दरबारसम्म पुगेर समापन भएको थियो।

नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास स्थलको जगेर्ना गर्दै पर्यटन प्रर्वद्धनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कँडेलले जानकारी दिए।

गोरखाको पालुङटार नगरपालिका, गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र रणसिंह दल गणको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो। रासस

प्रकाशित मिति: : 2019-09-11 18:58:41

प्रतिकृया दिनुहोस्