क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा कठिन जित निकालेको छ। घरेलु मैदानमा शनिबार राति भएका खेलमा युभेन्टसले हेलास भेरोनामाथि २–१ को कठिन जित निकालेको हो। युभेन्टसका आरोन राम्सी र रोनाल्डोले गोल गरे। भेरोनाका मिगुइल भेलोसोले गोल गरे ।
खेलको २० औं मिनेटमा घरेलु टोलीविरुद्ध भेरोनाका स्यामुइल डि कारमाइनले पेनाल्टी चुकाएका थिए। लगत्तै भेलोसोले गोल गर्दै पाहुना टोलीलाई सुरूवाती अग्रता दिलाए। तर, भेरोनाको त्यो अग्रता लामो समय टिकेन। ३१औं मिनेटमा रोनाल्डोको पासमा आरोन राम्सीले बराबरी गोल फर्काए।
पहिलो हाफमा १-१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युभेन्टस हाबी भयो। खेलको ४९औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा २–१ को अग्रता दिलाए।
कोरे गन्टरले युभेन्टसका जुआन कोर्डाडोलाई लडाएपछि प्राप्त पेनाल्टीमा रोनाल्डो चुकेनन्।
त्यसपछि दुवै टोलीले गोलका प्रयासलाई सदुपयोग गर्न नसक्दा युभेन्टस २–१ ले विजयी हुदै महत्वपुर्ण ३ अंक जोड्न सफल भयो ।
खेलको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा मारास कुम्वुला दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि भेरोना १० खेलाडीमा समेटिन पुगेको थियो। जितसँगै युभेन्टसले ४ खेलबाट १० अंक जोडेरको छ। पराजित भेरोना ४ अंक जोडेर १२औं स्थानमा छ ।