प्रिमियर लिग क्लब आर्सनल इंग्लिस फुटबल लिग कप (इएफएल) को चौथो चरणमा प्रवेश गरेको छ ।च्याम्पियनसिप क्लब नटिङघम फरेष्ट क्लबमाथि फराकिलो जित निकाल्दै आर्सनल चौथो चरणमा प्रवेश गरेको हो ।
घरेलु मैदान इमिरेट्स स्टेडियममा मंगलबार राति भएको खेलमा आर्सनललाई जिताउन ग्याब्रियल मार्टिनेलीको दुई तथा रव होल्डिङ, जोसेफ विललक र रेइस नेल्सनले समान एक एक गोल गरे ।
खेलको शुरुवातदेखि नै दोस्रो डिभिजनको क्लबलाई दवावमा राखेको आर्सनलले पहिलो गोलको लागि ३१औं मिनेट गरेको थियो । कलुम चेम्वर्सको पासमा ग्याब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएको आर्सनलले दोस्रो हाफमा ४ गोल गर्न सफल भयो ।
७१औं मिनेटमा रव होल्डिङले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ७७औं मिनेटमा जोसेफले हेक्टर बर्लिनको पासमा गोल गर्दै अग्रता ३–० मा पुर्याए ।
८४औं मिनेटमा रेइस नेल्सनले गोल गर्दै आर्सनललाई ४–० को अग्रता दिलाए । इन्ज्युरी समयमा ग्याब्रियल मार्टिनेलीले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गर्दै आर्सनललाई ५–० को फराकिलो जित दिलाए ।