सिंगापुर विरूद्धको एकै खेलमा बनेका ९ ठूला कीर्तिमानहरू

तस्बिरः आईसिसि

कप्तान पारस खड्काको कीर्तिमानी सतकीय इनिङ्समा नेपालले सिंगापुरलाई ९ विकेटले हराउने क्रममा विभिन्न ९ वटा कीर्तिमान बनेका छन्।

जिम्बाम्बे, नेपाल र सिंगापुरसम्मिलित त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आयोजक सिंगापुरलाई फराकिलो अन्तरमा हराएको हो।

पहिले ब्याटिङ गर्दै सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमै मात्र १ विकेट गुमाएर पुरा गरेको थियो। 

हेर्नुहोस् आजका खेलमा बनेका कीर्तिमानहरू

टी-२० अन्तर्राष्ट्रियमा नेपालको पहिलो शतक

कप्तान पारस खड्का नेपालको लागि टी-२० अन्तर्राष्ट्रियमा शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन्।

एक दिवसीय अन्तर्राष्ट्रियमासमेत शतक बनाएका कप्तान पारस खड्काले टी ट्वान्टीमा पनि पहिलो सतक बनाएका छन्।

टी-२० अन्तर्राष्ट्रियमा २२ खेलबाट २१ इनिङ्स खेलेका खड्काले १ शतक र ३ वटा अर्धशतक बनाएका छन्। ३५.०५ एभरेजमा ६३१ रन बनाएका खड्काले १०६ रन नटआउट सर्वाधिक रन हो।

व्यक्तिगत सर्वाधिक स्कोर

शतक बनाएका पारस खड्का नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङ्समा सर्वाधिक स्कोर गर्ने ब्याट्सम्यान बनेका छन्। यसअघि पारसले मलेसियाबिरूद्ध यसै वर्ष जुलाईमा अविजित ८६ रन बनाएका थिए।

यस्तै पारसले नै २०१९ जुलाईमा कुवेतविरूद्ध ६८ रन बनाउका थिए।

अफगानिस्तानविरूद्ध सुवास खकुरेलले सन् २०१४ मा ५६ रनको योगफल बनाएका थिए।

सबैभन्दा ठूलो साझेदारी

पारस खड्का र आरिफ शेख बीच दोस्रो विकेटको लागि भएको अविजित १४५ रनको साझेदारी कुनै पनि विकेटको लागि नेपालको सबैभन्दा ठूलो साझेदारी हो।

यसअघि नेपाली ब्याट्सम्यानहरुले टी-२० अन्तर्राष्ट्रियमा शतकीय साझेदारी गर्न सकेका थिएनन्। पारस खड्का र शरद भेसावकरले सन् २०१४ को टी-२० विश्वकपमा गरेको ८५ रनको साझेदारीनै यस अघिको सर्वाधिक साझेदारी थियो।

यस्तै १४५ रनको साझेदारी कुनै पनि विकेटको लागि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकै १६ औं ठूलो साझेदारी हो। यस्तै दोस्रो विकेटको लागि यो पाँचौ ठूलो साझेदारी हो।

एकै इनिङमा सर्वाधिक छक्का 

कप्तान पारस खड्का नेपालका लागि टी-२० अन्तर्राष्ट्रियको एकै इनिङमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन्।

पारसले आज कुल ९ छक्का र ७ चौका प्रहार गरेका थिए। यसअघि पारस र बिनोद भण्डारीले यसै वर्ष मलेसिया बिरुद्ध समान ५ छक्का प्रहार गरेका थिए।

बाउन्ड्रीबाटै सर्वाधिक रन 

एकै इनिङमा बाउन्ड्रीबाट सर्वाधिक रन बनाउने रेकर्ड पनि पारस खड्काले आफ्नो नाम गरेका छन्। १०६ रन बनाउने क्रममा पारसले चौका र छक्का बाटै ८२ रन बनाएका थिए। यसअघि यो रेकर्ड पारसकै नाममा थियो। उनले मलेसियाबिरुद्ध यसै वर्ष ६२ रन बाउन्ड्रीबाट बनाएका थिए।

लक्ष्य पछ्याउँदै शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान 

टी-२० अन्तर्राष्ट्रियमा लक्ष्य पछ्याउने क्रममा शतक बनाउने पारस खड्का विश्वकै पहिलो कप्तान बनेका छन्। यसअघि विश्वका कुनै पनि ब्याट्सम्यानले लक्ष्य पछ्याउँदा शतक बनाउन सकेका थिएनन्।

यसअघि लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डका कप्तान पिटर सिलरले यसै वर्ष स्कटल्याण्ड बिरुद्ध अविजित ९६ रन बनाएका थिए।

एकै इनिङमा कप्तानको रूपमा विश्वकै तेस्रो धेरै छक्का 

कप्तानको रूपमा पारस खड्का टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने तेस्रो खेलाडी भएका छन्। उनी मात्र १ छक्काले सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बन्नबाट चुके।

भारतका रोहित शर्माले सन् २०१७ मा श्रीलंका बिरुद्ध र आरोन फिन्चले २०१८ मा जिम्बाब्वे बिरुद्ध कप्तानको रुपमा समान १०/१० छक्का प्रहार गरेका थिए। पारसले ९ छक्का प्रहार गर्दै यो सूचिमा दोश्रो स्थानमा पुगेका छन्।

यद्यपी पारसले क्रिस गेल, इयान मोर्गन जस्ता ब्याट्सम्यानलाई पछि पारेका छन्।

दोस्रो इनिङमा विश्वकै सातौं ठूलो व्यक्तिगत स्कोर

लक्ष्य पछ्याउने क्रममा पारसले बनाएको १०३ रन विश्वकै सातौं ठूलो व्यक्तिगत स्कोर हो।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले बनाएको १०३ रनको रेकर्ड तोड्दै पारस सातौं स्थानमा उक्लिएका छन्।

नेपालको सबैभन्दा ठूलो विकेट अन्तरको जित 

सिंगापुरबिरुद्ध ९ विकेटको जित टी-२० अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा ठूलो विकेट अन्तरको जित हो। यस अघि नेपालले मलेसियालाई २ पटक ७ विकेटले तथा कुवेतलाई १ पटक ७ विकेटले पराजित गरेको थियो।

यस्तै धेरै बल बाँकी रहेको आधारमा भने यो नेपालको दोस्रो छिटो जित हो। नेपालले २४ बल बाँकी छँदा खेल जित्यो। यसअघि नेपालले कुवेतलाई टि-२० विश्वकप छनोट ( एसिया फाइनल ) मा यसै वर्ष २५ बल बाँकी छदै जितेको थियो।

 

प्रकाशित मिति: : 2019-09-29 00:05:42

प्रतिकृया दिनुहोस्