बेलबारी गोल्डकप
वर्षाका कारण शनिबार हुने भनिएको तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल स्पर्धा आइतबार हुँदैछ ।
मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित मैदानमा पाहुना टोली भारतको रोयल फुटबल क्लब र सुनसरीको धरान फुटबल क्लबबीच उपाधि रक्षाका लागि भिडन्त हुनेछ। दुवै टोलीको एउटै लक्ष्य उपाधि उचाल्ने हो। मोरङमा गोल्डकपको सिजन सुरु भएको संकेत दिएको यस प्रतियोगितालाई उपाधि उचाल्दै सफलतापूर्वक सम्पन्न गर्ने दाउमा दुवै टोली लागेका छन्।
दोस्रो सेमिफाइनल खेलमा बिहीबार विभागीय टोली एपीएफलाई ३–० को अन्तरले पराजित गर्दै भारत फाइनलमा पुगेको हो। फाइनल यात्रा तय गर्ने क्रममा धरानले मदन भण्डारी स्पोर्टस एकेडेमीलाई बुधबार २–१ गोल अन्तरले पराजित गरेको थियो। फाइनलमा भारत आदर्श तामाङ र धरान विष्णु सुनारको कप्तानीमा मैदानमा उत्रने तयारीमा छन्।
भारतका प्रशिक्षक मिङ्मा सुब्बा उपाधि रक्षा गर्ने हिसाबमा टिमको तयारी रहेको बताउँछन्। ‘हाम्रा खेलाडी शारीरिक तथा प्राविधिक रुपमा मजवुत छन्,’ उनले भने, ‘धरान पनि सबै हिसावबाट प्रतियोगिताको बलियो टिममा पर्छ ।’ फाइनलमा यस टिमबाट तीन जना नेपाली खेलाडी पनि सहभागी हुने उनको भनाइ छ । भारतकै सिक्किम र सिलिगुडीमा भएका पछिल्ला दुईवटा प्रतियोगिताको उपाधि उचालेर यस प्रतियोगितामा सहभागी हुन आएको जानकारी सुब्बाले दिए । उनले खेलाडीको प्रदर्शन र अनुभव जितको मुख्य आधार रहने जनाए ।
धरानका प्रशिक्षक सागर घिमिरे प्रदेश १ का राम्रा र राष्ट्रिय खेलाडी सामेल गराएर फाइनल जित्ने हिसावमा उत्कृष्ट टिम तयार पारेको बताउँछन् । ‘भारत एकदम नै राम्रो टिम हो,’ उनले भने, ‘तर पनि खेलाडीले उपाधिका लागि मैदानमा ठूलै मिहिनेत गर्ने छन् ।’ धरानबाट फाइनलमा भरत खवासले पनि खेल्ने घिमिरेले बताए । ‘हाम्रो खेलाडीको टिम सेट मिलेको छ,’ उनले भने, ‘टिममा चर्चित र अनुभवी खेलाडी छन् ।’
भारतको कमजोरी पहिल्याउँदै त्यसलाई ‘क्याच’ गरेर त्यहीअनुसारको रणनीति बनाएर जसरी पनि उपाधि नेपालमै राख्ने योजना रहेको उनको भनाइ छ । कर्ण लिम्बू, विशाल राई, विष्णु सुनार, बुद्ध चेम्जोङ र भरत खवास फाइनलमा धरानले बढी आस गरेका खेलाडी हुन् ।
असोजबाट ४ बाट सुरु प्रतियोगितामा आठवटा टिमले सहभागी जनाएका थिए । खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि प्रतियोगितालाई निरन्तरता दिइएको आयोजक डाँगीहाट युथ क्बलका अध्यक्ष विक्रम वान्तवा राईले बताए । उनका अनुसार प्रथम हुने टिमलाई पाँच लाख र द्धितिय हुने टिमलाई दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । गत वर्ष प्रथम हुने टिमले दुई लाख २२ हजार र द्धितिय हुने टिमले एक लाख ११ हजार रुपैयाँ मात्रै पाएका थिए । यस वर्ष पुरस्कार राशि बढाइएको हो ।
प्रतियोगितामा म्याद अफ दी म्याच, म्यान अफ दी सिरिज, उत्कृष्ट डिफेन्स, विङ्स, फरवार्ड, गोलरक्षक, मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको जानकारी प्रतियोगिताका संचार संयोजक नरेन्द्र बस्नेतले बताए ।