रोनाल्डोको पेनाल्टी गोलसँगै युभेन्ट्स हारबाट जोगियो

तस्बिरः एजेन्सी

इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्स बराबरीमा रोकिएको छ।

आइतबार घरेलु मैदानमा भएको खेलमा युभेन्ट्स सासुओलोसँग २–२ को बराबरी रोकिएको हो। कप्तान लियोनार्दो बोनुची र क्रस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए। यस्तै सासुओलोका लागि जर्मी बोगा र फ्रान्सिस्को क्यापुटोले एक एक गोल गरे।

खेलको २० औं मिनेटमा युभेन्टसका लागि कप्तान बोनुचीले गोल गर्दै अग्रता दिलाएका थिए। तर, युभेन्टसको अग्रता धेरैबेर टिकेन। २२ औं मिनेटमा नै सासुओलोका बोगाले खेल १–१ मा फर्काए।

दोस्रो हाफमा सुरु हुनासाथ युभेन्ट्सले गोल खायो। खेलको ४७ औं मिनेटमा क्यापुटोले युभेन्टसका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गोल गर्दै अग्रता १–२ बनाए।

खेलको ६८औं मिनेटमा युभेन्ट्सले पेनाल्टी पायो। सासुओलोका डिफेन्डरले बक्समा पाउलो डिबालालाई फउल गरेपछि पाएको पेनाल्टीमा रोनाल्डोले कुनै गल्ती नगरी गोल गर्दै खेल २–२ मा ल्याए। त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल बराबरीमा सकियो।

बराबरीसँगै युभेन्ट्सले १४ खेलबाट ३६ अंक बनाएर शीर्ष स्थानमा छ। युभेन्ट्स एक खेल कम खेलेको इन्टर मिलानभन्दा २ अंकले अघि छ। यता सासुओलो १४ अंकसहित १३औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-01 20:53:41

प्रतिकृया दिनुहोस्