आइसियुमै आइप्याडबाट प्रधानमन्त्रीले हेरे साग प्रत्यक्ष प्रसारण

तस्बिरः बिएल नेपाली सेवा

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भएको १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) को उद्घाटन समारोह महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरको आइसीयूमा रहेर प्रत्यक्ष प्रसारण हेरेका छन्।

खेलाडीहरूलाई निकै मन पराउने प्रधानमन्त्री ओलीले आइप्याडमा यहाँस्थित दशरथ रङ्गशालामा भएको सागको उद्घाटनको प्रत्यक्ष प्रसारण हेरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार काठमाडौंको दशरथ रंगशालामा आयोजित भव्य समारोहबीच १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक रूपमा उद्घाटन गरेकी छन्।

उद्घाटन समारोहमा प्रतियोगितामा सहभागी सातवटै देशको मार्चपाससहित नेपालको कला, संस्कृति र पहिचान झल्काउने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

राष्ट्रपतिबाट प्रतियोगिता उद्घाटन भएको घोषणा भइरहँदा आतशबाजी र पटका पड्काएर समारोहलाई थप आकर्षक  र मनोरञ्जनात्मक बनाइएको थियो।

समारोहमा सात हजार ५ सयको जना कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

काठमाडौं, पोखरा र जनकपुरका २९ स्थानमा यही मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने तेह्रौँ सागमा नेपालका ५८४ सहित अफगानिस्तानबाहेक सार्कका सात राष्ट्रबाट करीब तीन हजार खेलाडीको सहभागिता छ।

हेर्नुहोस् तस्बिरमा

प्रकाशित मिति: : 2019-12-01 23:32:08

प्रतिकृया दिनुहोस्