नेपाली तेक्वान्दोको सबैभन्दा सफल जोडी दीपक बिष्ट र आयशा शाक्यले आफ्नो घरमा सात स्वर्ण भित्र्याएका छन्।
दक्षिण एसियाली खेलकुदमा ४ स्वर्ण जितेर नेपाली खेलकुदको सबैभन्दा सफल खेलाडी बन्न सफल दीपककी जीवन संगिनी हुन, आयशा। उनले १३ औं सागअन्तर्गत सोमबार सातदोबाटोस्थित तेक्वान्दो संघको मुख्यालयमा रहेको मुख्य खेल स्थलमा पुम्सेतर्फ २ स्वर्ण जितेपछि आफ्नै श्रीमानको पदक नजिक पुगेकी छिन्। आयशाको साग गेम्समा ३ स्वर्ण पुगेको छ।
उनले सन् २०१० बंगलादेशमा आयोजना भएको एघारौं सागमा स्वर्ण जितेकी थिइन। ९ वर्षपछि उनले पुम्सेमा दुई वटा स्वर्ण जितेकी हुन्। उनले २९ वर्षमाथि महिला पुम्सेमा र पुम्से जोडीमा स्वर्ण जितेकी हुन्।
श्रीमानको पदक नजिकै पुगेकोमा आयशाले खुसी व्यक्त गरिन् र अवसर पाएको खण्डमा श्रीमानको कीर्तिमानलाई भंग गर्न आफू लालायित रहेको प्रतिक्रिया दिइन्।
यस्तै, दीपक बिष्टले पनि श्रीमतिको सफलताले उत्साही बनाएको बताए। उनले कीर्तिमान तोड्नकै लागि बन्ने बताउँदै तेक्वान्दो खेलाडी, त्यसमा पनि आफ्नै श्रीमतिले कीर्तिमान भंग गर्दा आफू सबैभन्दा ठूलो भाग्यमानी बन्ने बताए।