स्वर्ण जितेपछि नवीनले भने– आमाबुवाको आँखाबाट खुसीको आँशु झर्‍यो (भिडियो)

तस्बिरः बिएल नेपाली सेवा

१३ औं साग अन्तर्गत कुमुतेतर्फ ६७ केजीमा बुधबार नेपाललाई स्वर्ण दिलाएका नवीन रसाईलीले आफ्नो स्वर्ण पदक बालाजु डोजाङप्रति समर्पित गरेका छन्।

व्यक्तिगत प्रयासमा सुरु भएको बालाजु डोजाङले हालसम्म एक दर्जन अन्तर्राष्ट्रिय पदकधारी खेलाडी जन्माइसकेको छ। यसको पछिल्लो कडीमा आफूपनि जोडिन सफल भएकोमा उनले खुसी व्यक्त गरे।

बाग्लुङका रसाईली सन् २०२० मा जापानको टोकियोमा आयोजना हुन लागेको ओलम्पिकको तयारीमा जुटिरहेको बेला पहिलो साग स्वर्णले उनमा उत्साह भरेको छ। उनको खेल हेर्न परिवारका सबै सदस्य सातदोबोटोस्थित कराते हलमा उपस्थित भएका थिए।

नवीनका दाजु राजकुमार पनि यही साग गेम्समा समावेश छन्। उनी बिहीबार टिम कुमुतेतर्फ प्रतिस्पर्धा गर्दैछन्। उनले भाईको सफलतामा खुसी व्यक्त गरे। ‘रसाईली परिवारमा पहिलो स्वर्ण भित्रिएको छ। भाईलाई बधाई छ,’ बिएलसँगको कुराकानीमा उनले भने।

नवीनले सागमा स्वर्ण जित्दा उनको आमाबुवाको आँखा रसाएको थियो। बाग्लुङमा सामान्य व्यापार गर्ने बुवाले आफूहरूलाई खेल्न सधै प्रोत्साहित गरिरहेको नवीनको भनाई थियो।

उनीहरूको कान्छो भाई पनि कराते खेलाडी नै हुन्। बहिनी हाल अस्ट्रेलियामा अध्ययनरत छिन्। बिएल नेपाली सेवालाई अन्तर्वार्ता दिने क्रममा नवीनले राती दाजुले आफूलाई स्वर्ण जित्न हौसाएको बताए।

‘दाजुले हिजोराति म हारेपनि केही हुदैन तर तैले स्वर्ण जित्नुपर्छ भन्नु भयो,’ नवीनले भने। उनले बिहीबारको खेलमा दाजुलाई पनि स्वर्णका लागि अग्रिम शुभकामना दिए।

प्रकाशित मिति: : 2019-12-03 14:08:21

प्रतिकृया दिनुहोस्