सन्तोषीको प्रतिभा देखेर १७ वर्षपछि खेलमा फर्किएः प्रशिक्षक वन्त (भिडियोसहित)

बिएल

महिला एथलेटिक्समा सन्तोषी श्रेष्ठले नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएपछि उनका प्रशिक्षक तथा मेन्टर रघुराज वन्तले उनकै कारण आफू खेलकुदमा फर्किएको बताएका छन्। सन्ताेषीले मंगलबार भएकाे १० हजार मिटर दाैडमा नेपाललाई स्वर्ण दिलाएकी थिइन।

नेपालका पूर्व ओलम्पिक धावक वन्त लामो समयदेखि खेलकुदबाट टाढा थिए। सन् १९८० को मस्को ओलम्पिकमा सय मिटर दौडमा सहभागी भएका वन्त खेलकुदमा पछिल्लो समय बढ्दो राजनीतिकरणका कारण खेलबाटै बाहिरिएका थिए।

तर, उनले सन्तोषी श्रेष्ठ जस्तो प्रतिभा देखेर पुनः खेलमा फर्किएको बताए। ‘वास्तवमा म १७ वर्षपछि प्रशिक्षकको भूमिकामा फर्किनुको कारण सन्तोषी हो,’ बिएल नेपाली सेवासँगको विशेष अन्तर्वार्तामा वन्तले भने।

उनले एडिडासले ५ वर्षअगाडि आयोजना गरेको दौड प्रतियोगितामा सन्तोषीलाई पहिलो पल्ट देखेको र उनको दौडिने कलाले प्रभावित भएको बताए। ‘मलाई त्यति बेलै लागेको थियो, यो केटीमा केही प्रतिभा छ। उसले बेलझुन्डी (आठौं बृहत राष्ट्रिय खेलकुद) मा स्वर्ण जितेपछि म विश्वस्त भएको थिए,’ वन्तले भने।

उनी १०–१२ दिनअगाडि नै सन्तोषीले दौड जित्ने कुरामा आफू ढुक्क रहेको बताए। ‘मैले यो त्यति कै भनेको होइन। उसको धेरै कुरा अध्ययन गरेपछि ममा आएको आत्मविश्वास हो,’ उनले भने।

उनले दौडका लागि सन्तोषीलाई मानसिकरूपमा पनि तयार पारेको बताए। उनीसँग बिएल नेपाली सेवाले गरेको भिडियो अन्तर्वार्ताः

कुनै बेला दौडिँदा भाइले गिज्याउँथे, अहिले इतिहास रच्न सफल (भिडियो अन्तर्वार्तासहित)

प्रकाशित मिति: : 2019-12-03 21:36:26

प्रतिकृया दिनुहोस्