राजधानीमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालकी निमा घर्ति मगरले स्वर्ण जितेकी छिन् । बिहिबार लगनखेलस्थित आर्मीको कभर्डहलमा थाउलोको महिला नान्दोमा मगरले स्वर्ण जितेकी हुन्।
उनले कुल १८.९१ अंक जोड्दै लगातार दुई सागमा स्वर्ण जितेकी छन्। निमा उसुमा लगातार दुई स्वर्ण जित्ने पहिलो खेलाडी बनिन् । सन् २०१६ मा भारतमा भएको सागमा पनि निमाले स्वर्ण जितेकी थिइन्।
सागको इतिहासमा उसुमा कुनै खेलाडीले पनि लगातार दुई पटक स्वर्ण पदक जित्न सकेका छैनन्। त्यसैले निमाले लगातार दुई पटक स्वर्ण जित्दै उसुमा कीर्तिमान कायम गरेकी हुन्।
कीर्तिमानी जितपछि निमाले आफ्नो एउटा सपना साकार भएको बताएकी छन्। ‘तयारी राम्रो थियो। हामीले करिब ६ महिनादेखि नै क्लोज क्याम्पमा बसेर अभ्यास गरिरहेका थियौं। १३औं सागको लागि भनेर हामी पहिलेदेखि नै राम्रो तयारीमा थियौं, जसको प्रतिफल पायौ,’ उनले भनिन्।
आफू यो सफलताबाट निकै खुशी भएको भन्दै उनले खेलस्थलमै उपस्थित परिवारसमक्ष खुसी बाढ्न पाउँदा भाग्यमानी महशुस गरेको बताइन्।
‘बाबा आमाकै अगाडि स्वर्ण जित्दा निकै खुशी छु। यो मेरो स्वर्ण अभिभावकलाई समर्पण गर्न चाहन्छु। त्यसपछि प्रशिक्षकहरुलाई,’ उनले भनिन्।
उसुमा नेपालले अहिलेसम्म चार वटा स्वर्ण पदक जितिसकेको छ, निमासँगै विजय सिँजाली, सुस्मिता तामाङ र दिपक हमालले स्वर्ण जितेका छन्।