सागमा नेपाललाई कीर्तिमानी ३२ औं स्वर्ण पदक

तस्बिरः बिएल नेपाली सेवा

नेपालमा जारी १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा घरेलु टोलीले अहिलेसम्म ३२ स्वर्ण पदक जितिसकेको छ।

नेपालका लागि  साइक्लिङमा बुद्धिबहादुर तामाङले ३२औं स्वर्ण जितेसँगै नेपालले साग इतिहासमा नयाँ कीर्तिमान बनाएको छ।

नेपालमै भएको आठौं सागमा नेपालले हालसम्मकै सर्वाधिक ३१ स्वर्ण जितेको थियो।

लक्ष्मी मगरले साइक्लिङमा ३१ औं स्वर्ण जितेसँगै नेपालले आठौं दक्षिण एसियाली खेलकुद (साग)को कीर्तिमान बराबरी गरेको थियो।

सोमबारबाट सुरु भएको सागमा नेपालका लागि करातेमा मन्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण दिलाएका थिए।

प्रतियोगिताको पहिलो दिन १५ स्वर्ण जितेको नेपालले दोस्रो ८ स्वर्ण थपेर २३ पुर्‍याएको थियो। तेस्रो दिन ६ स्वर्ण जितेर २९ पुर्‍याएको नेपालले बिहीबार थप दुई पदक जित्दै कीर्तिमान बराबरी गरेको हो।

जारी सागमा नेपाल ३२ स्वर्ण, १७ रजत र २९ काँस्य गरी कूल ७८ पदक जित्दै पदक तालिकाको दोस्रो स्थानमा रहेको छ।

पदक तालिकाको सूचीमा ३८ स्वर्ण, ३२ रजत र १५ काँस्य गरी कूल ८५ पदकसहित भारत पहिलो नम्बरमा रहेको छ।

साग पदक तालिकाको तेस्रो नम्बरमा श्रीलंका रहेको छ। १२ स्वर्ण, २५ रजत र ४३ कांस्य सहित कूल ८० पदक जिती श्रीलंका तेस्रो नम्बरमा रहेको छ। चौथौं नम्बरमा रहेको पाकिस्तानले १० स्वर्ण, १८ रजत र २० कांस्य गरी कूल ४८ पदक हात पार्न सफल भएको छ।

बंगलादेश ४ स्वर्ण, ७ रजत र २८ कांस्यसहित कूल ३९ पदक जिती पाँचौं नम्बरमा रहेको छ। माल्दिभ्सले २ स्वर्ण र २ कांस्य गरी कूल ४ पदक जिती छैटौं नम्बरमा रहन सफल भएको छ। पदक तालिकाको सबैभन्दा पुछारमा रहेको भुटानले हालसम्म ४ कांस्य पदक जितेको छ।

 

प्रकाशित मिति: : 2019-12-05 14:59:30

प्रतिकृया दिनुहोस्