एसिड प्रहारबाट घाईते भएकी मुस्कान खातुनलाई सांगीतिक कार्यक्रम सप्तरङ्गले स्कुटी प्रदान गरेको छ।
वीरगन्जको घण्टाघरस्थित गृष्मा ब्रोडकाष्टिङको आयोजनामा भएको सांगीतिक कार्यक्रममार्फत एसिड पीडित मुस्कानलाई टिभिएस कम्पनीको स्कुटी उपहार दिइएको हो। स्कुटीको साँचो नायक राजेश हमालले शुक्रबार मुस्कानका बुवालाई प्रदान गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सांगीतिक कार्यक्रम सप्तरङ्गले प्रत्येक प्रदेशका जनतालाई एकताको सुत्रमा बाध्न सहयोग पुर्याएको विश्वास व्यक्त गरे।
प्रदेशको आर्थिक राजधानी वीरगन्जमा आयोजना गरीएको कार्यक्रमको सराहना गर्दै उनले सदियौंदेखि हिमाल पहाड तराईका जनता बिच रहेको प्रेमलाई अझ प्रगाढ बनाउने काम सप्तरङ्गले गरेको बताए।
एसिड पीडित मुस्कानको सहयोगार्थ आयोजना गरीएको कार्यक्रम सप्तरङ्गका सम्पूर्ण टिमलाई धन्यवाद समेत व्यक्त गरेका थिए।
मुख्यमन्त्री राउतले सांगीतिक कार्यक्रमले कलाकर्मीहरुलाई वीरगंज प्रति आकर्षित गरेकोमा खुशी समेत व्यक्त गरे ।
सप्तरङ्ग सांगीतिक कार्यक्रममा नायक राजेश हमाल, गायक सुगम पोखरेल, प्रकाश सपुत, हिमाल सागर, गायिका मेलिना राई, हाँस्य कलाकार जितु नेपाललगायतकाको प्रस्तुति रहेको थियो।
राजेश हमालले वीरगंजमा चलचित्रको छांयाकंनको लागि पटक पटक आए पनि सांगीतिक कार्यक्रमको लागि आफू पहिलो पटक आउन पाएकोमा खुशी व्यक्त गरे।
सातै प्रदेशका जनताबीच आपसी सद्भाव र सामिप्यता बढाउने आयोजना गरीएको कार्यक्रममा सात वटै प्रदेशका लोकप्रिय कलाकारहरुको सहभागीता छ।
निःशुल्क सांगीतिक कार्यक्रमको आयोजना गरी हरेक प्रदेशका जनतालाई एकताको सुत्रमा बाँध्न सो कार्यक्रमको आयोजना गरीएको संस्थाका प्रमुख गहेन्द्र घिमिरेले जानकारी दिए।
विभिन्न पीडित वर्गको पहिचान गरी उनीहरुको सहयोगका लागि सप्तरङ्गको आयोजना गरिएको प्रमुख घिमिरेले बताए
उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेकपाका नगर अध्यक्ष रहबर अन्सारी, पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरलगायतकाको उपस्थिति थियो।
कार्यक्रमले नेपाल सरकारको भिजिट नेपाल २०२० अभियानलाई समेत प्रवर्द्धन गर्ने घिमिरेले विश्वास व्यक्त गरे ।
यसपटकको सप्तरंग यात्रामा नायक राजेश हमाल, गायक सुगम पोखरेल, हाँस्य कलाकार जीतु नेपाल, गायिका मेलिना राई, गायक हिमाल सागर, प्रकाश सपुत र रवि ओड हुनेछन् ।
दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगीतिक यात्राको माध्यमबाट पर्यटकीयस्थलको प्रवर्द्धन तथा सम्भावनाको खोजी गरिने भएको छ।
विर्तामोडबाट सुरु भएको कार्यक्रम विरगंज पछि २४ गते चितवन, २६ गते नेपालगन्ज, २८ गते सुर्खेत, ३० गते महेन्द्रनगर र ४ गते पोखरामा पुगेर सकिनेछ।