सौर्यमण्डलको नया रहस्य खोल्दै छ नासा

NASA

अमेरिकी स्पेस एजेन्सीको अभियान ‘न्यू होराइजन्स’ ले सौर्यमण्डलको बाहिरी भागमा रहेको अल्टिमा टुली नामको पिण्ड नजिकैबाट यात्रा गरेपछि पृथ्वीसँग सम्पर्क गरेको छ।

उक्त अन्तरिक्षयानले पृथ्वीसँग ६.५ अर्ब किलोमिटरको दुरीबाट पृथ्वीमा सम्पर्क गरेको थियो। तत्पश्चात् यो सौर्यमण्डलमा सबैभन्दा टाढा पठाइएको सफल अभियान बनेको छ।न्यू होराइजन्स नामको रोबोटिक अन्तरिक्षयानले अल्टिमा टूली नजिकैबाट यात्रा गर्दै उक्त पिण्डका थुप्रै तस्बिर एवं महत्वपूर्ण जानकारी बटुलेको छ।

उक्त अन्तरिक्षयानले अबको केही महिनाभित्र ती तस्बिर एवं जानकारी पृथ्वीमा पठाइरहने छ।अन्तरिक्षयानले पठाएको रेडियो सन्देश स्पेनको मेड्रिडमा राखिएको नासाको ठूलो एन्टिनामा कैद भयो। यी सन्देशले पृथ्वी र अल्टिमा बीचको लामो दुरी तय गर्न ६ घण्टा आठ मिनेटको समय लगायो।

सिग्नल प्राप्त गर्नेबित्तिकै मेरिल्याण्डस्थित जोन होपकिन्स युनिभर्सिटीको एप्लाइड फिजिक्स ल्याबरेटरीमा उपस्थितले उत्साहित भएर ताली बजाए।उक्त अभियानका अपरेशन म्यानेजर ऐलिस बोमेनले भने, ‘हाम्रो अन्तरिक्षयान सुरक्षित छ । हामीले सबैभन्दा टाढा फ्लाइबाई गर्नमा सफलता हाँसिल गरेका छौं।’

फ्लाइबाईको अर्थ कुनै पनि स्थान वा बिन्दु नजिकै भएर यात्रा गर्नु हो।

के छ सन्देशमा?

अन्तरिक्षयानबाट आएको पहिलो रेडियो सन्देशमा त्यहाँको स्थितीबारे इन्जिनियरिङसँग सम्बन्धित जानकारी थिए। यसमा न्यू होराइजन्सले तस्बिर खिचेको र यसको मेमोरी पूर्ण रुपमा भरिसकेको जानकारीसमेत उपलब्ध थियो।

न्यू होराइजन्सले तस्बिर पठाएपछि वैज्ञानिक एवं सर्वसाधारणले अन्तरिक्षयानले कस्ताकस्ता तस्बिर खिचेका छन् भन्ने थाहा पाउनेछन्।

तर यहाँ याद गर्नुपर्ने कुरा के छ भने तस्बिर खिच्नेबेला अन्तरिक्षयान कुन स्थितीमा थियो। यदि त्यसको स्थिती सही थिएन भने अन्तरिक्षको मात्र तस्बिर कैद गरेको पनि हुनसक्छ।

अल्टिमा सौर्यमण्डल त्यो स्थानमा छ जसलाई काइपर बेल्ट भनिन्छ। यो बेल्ट जमेका पिण्डबाट बनेको छ जुन नेप्चुनबाट दुई अर्ब किलोमिटर र प्लुटोबाट १.५ अर्ब किलोमिटर टाढा छ। यो पिण्डले सूर्यको परिक्रमा गरिरहन्छ। सन् २०१५ मा न्यू होराइजन्सले प्लुटो नजिकबाट पनि यात्रा गरेको थियो।

काइपर बेल्टमा अल्टिमाजस्ता हज्जारौं पिण्ड भएको हुनसक्ने अनुमान लगाइन्छ र आजभन्दा ४.६ अर्ब वर्षअघि सौर्य मण्डलको निर्माण भएका बेला कस्तो स्थिती थियो होला भनेर यसको स्थिती हेरेर पत्ता लगाउन सकिन्छ।

न्यू होराइजन्स र पृथ्वीबीचको दुरी निकै लामो छ। अन्तरिक्षयानमा स–साना १५ वाटका ट्रान्समिटर राखिएका छन्। यसको अर्थ यो हो कि डाटा निकै ढिला आउनेछन्।तरपनि यो एक किलोबाइट प्रति सेकेन्डको गतीमा आउनसक्छ । यस्तोमा यो अन्तरिक्षयानले जतिपनि तस्बिर इत्यादि स्टोर गरेको छ, त्यो पृथ्वीमा रिसिभ गर्ने काम सेप्टेम्बर २०२० सम्म पुरा हुने आशा गरिएको छ।

काइपर बेल्टको अनुसन्धान किन महत्वपूर्ण छ?अल्टिमा टुलीको विषयमा र जहाँ यो अवस्थित छ, त्यो स्थानको विषयमा वैज्ञानिकबीच  निकै उत्सुकता छ।

एउटा कारण यो हो कि यो भागमा सूर्यको निकै कम किरण पुग्छ र यहाँको तापक्रम निकै कम छ। यसकारण यहाँ रासायनिक प्रक्रिया लगभग शून्य भएको हुनसक्छ। यसको अर्थ यो हो कि अल्टिमा जबदेखि निर्माण भयो त्यतिबेलादेखि नै जमेको अवस्थामा छ।दोस्रो कुरा यो हो कि अल्टिमाको आकार सानो छ (मात्र ३० किलोमिटर), यस्तोमा यसको बनावटमा सुरुदेखि अहिलेसम्म त्यति धेरै परिवर्तन नभएको हुनसक्छ।

तेस्रो महत्वपूर्ण कुरा यो हो कि यो काइपर बेल्टमा अवस्थित छ। सौर्यमण्डलको आन्तरिक हिस्सामा पिण्डहरु एकआपसमा धेरैपटक ठोक्किए तर काइपर बेल्टमा पिण्डहरु अपेक्षाकृत कम ठोक्किए।

स्टर्न एलन भन्छन्, ‘हामीले अल्टिमा बारे जे जानकारी पाउँछौं त्यसबाट हामीलाई सौर्यमण्डलको निर्माण कस्ता चीजबाट र कसरी भए भन्ने कुरा पत्ता लाग्नेछ। अहिलेसम्म हामीले जतिपनि पिण्डलाई उपग्रहमा पठाएका छौं वा जसको नजिकै हाम्रा अन्तरिक्षयानले यात्रा गरे, तीबाट हामीले यो जानकारी पाउन सकेका छैनौं किनभने उनीहरु कि त निकै ठूला थिए कि त अत्यधिक तातो। अल्टिमा यीभन्दा फरक छ।’

प्रकाशित मिति: : 2019-02-22 02:29:24

प्रतिकृया दिनुहोस्