सागको दोस्रो दिन : फुटबलमा नेपालले पहिलो खेल भुटानसँग खेल्दै

फाइल तस्बिर: बिएल


१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबारदेखि दोस्रो दिनकाे खेलहरु सुरु हुनेछ।

सागको दोस्रो दिन काठमाडौं र पोखरा गरि कुल १५ खेलको प्रतिस्पर्धा हुनेछ। सागको दोस्रो दिनसम्म नेपाल १५ स्वर्ण,चार रजत र छ कास्स हित शीर्ष स्थानमा रहेको छ।

सागमा मंगलबार एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो,ट्रायथोलन, भलिबल र उसुको प्रतिस्पर्धा हुनेछ। जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुन्छ। अन्य खेल काठमाडौंमा हुनेछ।

ट्रायथलनः

पोखरामा आयोजना हुने ट्रायथलन अन्तर्गत मंगलबार दुवाथलनका खेल बिहान ८ बजे बाट सुरु हुने छ।

सोमबार ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा महिलातर्फ नेपाली सोनी गुरुङले स्वर्ण जितेकी थिइन्। पुरुषमा बसन्त थारुले कास्य जिते।

एथ्लेटिक्स:

काठमाडौंको दशरथ रंगशालामा विभिन्न ९ स्पर्धामा एथ्लेटिक्सको प्रतिस्पर्धा हुने तय भएपनि ७ खेलको मात्र स्वर्णको टुङ्गो लाग्ने भएको छ। तालिकाअनुसार आज सय मिटर पुरुष र महिला स्पर्धाको हिट चरणको खेल हुनेछ।

यस्तै, हाई जम्पको महिला र पुरुष, १५ सय मिटर दौडको पुरुष र महिला र सय मिटर दौडको पुरुष महिलाको फाईनल खेल आज नै हुनेछ। त्यस्तै १० हजार मिटर पुरुषको फाईनल खेल समेत आज राखिएको छ।

फुटबल:

सागको दोस्रो दिन पुरुष फुटबलमा चार खेल हुनेछ । पहिलो खेल नेपाल र भुटान को पुरुषबीच दशरथ रंगशालामा दिउँसो १ बजे खेल हुनेछ। उता महिला फुटबलतर्फ पोखरा रंगशालामा हुने पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ। खेल विहान १० बजे सुरु हुनेछ।

यस्तै दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्नेछन्। यस्तै काठमाडौंको दशरथ रंगाशालामा दोस्रो खेलमा बंगलादेशका पुरुषले माल्दिभ्सको सामना गर्नेछ। खेल नेपाली समयअनुसार बेलुका ५ बजे सुरु हुनेछ।

भलिबल:

साग अन्तर्गत मंगलबार महिला र पुरुष दुबैतर्फको फाइनल खेल हुनेछ । त्रिपुरेश्वरको राखेप कभर्डहलमा महिलातर्फ स्वर्णका लागि नेपाल र भारतबीच खेल हुनेछ । खेल ४ बजे सुरु हुनेछ ।

पुरुषतर्फ भारत र पाकिस्तानले स्वर्णका लागि खेल्नेछ । खेल १ बजे हुनेछ ।

क्रिकेटः

साग क्रिकेट अन्तर्गत मंगलबार नेपालले टेष्ट राष्ट्र श्रीलंकाको यू–२३ टिमसँग खेल्दै छ। यस्तै पोखरामा हुने महिला क्रिकेटमा श्रीलंका र बंगलादेशबीच खेल हुनेछ।

ब्याडमिन्टनः

पोखरामा हुने ब्याडमिन्टनतर्फ सोमबार महिला टिम इभेन्टको फाइनलको खेल हुँदैछ। यस्तै अन्य प्रतिस्पर्धा सुरु हुनेछ। नेपालले सोमबार पुरुष र महिला टिमको दुवै स्पर्धामा कास्य जितेको थियो।

सुटिङः

सुटिङका खेलहरु पनि मंगलबारबाट सुरु हुँदैछ । सातदोबाटोस्थित सुटिङ हलमा खेलमा नेपालको महिला टिमले दुई खेलमा प्रतिस्पर्धा जनाउँदैछ। महिला टिमले १० मिटर एअर राईफल १० मिटरतर्फ तथा टिम इभेन्टतर्फ प्रतिस्पर्धा गर्दैछ।

यस्तै पुरुष टिमले ५० मिटर थ्री पोजिसन तथा २५ मिटर सेन्टर फायरमा सहभागी जनाउँदैछ। सुटिङ तर्फ नेपालले ५ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ।

तेक्वान्दोः

तेक्वान्दोमा मंगलबार ४ स्वर्णको टुङ्गो लाग्दैछ। ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा मंगलबार गेरुगीतर्फ ४ स्वर्णको टुङ्गो लाग्न लागेको हो।

करातेः

साग अन्तर्गत करातेमा मंगलबार पनि विभिन्न पदकको लागि खेल हुने। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ।

खो खोः


खो खोतर्फ मंगलबार सेमिफाइनलको खेल हुनेछ। सेमिफाइनलमा भारतले श्रीलंका तथा नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छन्।

उसुः

सागको तेस्रो दिन मंगलबार उसुका खेलहरु सुरु हुनेछ। पहिलो दिन नेपालले २२ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ। आर्मी क्लबको शारिरिक तथा प्रशिक्षण केन्द्रमा हुने खेल विहान ९ बजेबाट सुरु हुनेछ। थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ। थाउलो खेल विहान हुनेछ भने सान्सो साझ ४ बजेपछि हुनेछ।


गल्फः

गोकर्ण फरेस्ट गल्फ क्लबमा मंगलबार बिहान १० बजेबाट गल्फको खेल सुरु हुनेछ। सागमा पुरुष ब्यक्तिगततर्फ नेपाल, बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन्। महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ। महिला टिम र एकल दुवैमा कम्तीमा सहभागी देशको कांस्य पदक पक्का भएको छ।

टेबल टेनिसः

टेबल टेनिसका खेल सोमबारबाट सुरु हुनेछ। खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुनेछ। खेलहरु बिहान १० बजे सुरु हुनेछ।

टेनिसः

सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार पनि टिम इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन्।

पुरुषमा नेपालले भारतसँग खेल्नेछ। भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको छ।

महिला टिम इभेन्टमा नेपाल र श्रीलंका सेमिफाइनलमा पुगेका छन्।

साइक्लिङः

साग अन्तर्गत साइक्लिङको स्पर्धा मंगलबारबाट सुरु हुनेछ। साइक्लिङको प्रतिस्पर्धा सहिद पार्क गोकर्णमा हुनेछ।

प्रकाशित मिति: : 2019-12-03 07:48:41

प्रतिकृया दिनुहोस्