बारामा फौजी किराको प्रकोपबाट धानबाली खेतमै नष्ट

फाइल तस्बिर

बाराका किसानहरु फौजी किराको प्रकोपबाट पीडित भएका छन्। घरमा भित्र्याउने बेलामा फौजी किराको प्रकोपले सयौं बिगाहा धानबाली नष्ट गरिदिएपछि किसानहरु पीडित भएका हुन्।

फौजी किराले बाराको जितपुर, सिमरा उप–महानगरपालिका, कलैया उप–महानगरपालिका, फेंटा गाउँपालिकाको वडाहरुको धानबाली नष्ट पारेको देखिएको छ। बाराको डुम्मरवाना देखि मनहरवा सिसवा महेसपुरसम्मका किसानहरुले लगाएको धानमा काटेर आधा जति धानबालीमा नोक्सान पुर्‍याएको कारण हुण्डा बटैयामा खेति गरेका किसानलाई कसरी साहुकारलाई तोके जतिको अन्न दिने भन्ने चिन्ताले सताएको छ। वर्षभरी खान र बेच्नको लागि लगाएको धानबाली खेतमै नष्ट हुने भएपछि किसानहरु चिन्तित बनेका हुन्।

आफूले लगाएको बाली घरमा भित्र्याउन जाँदा आधाजति धान फौजी किराले सखाप पारेपछि दिनभरी खेतमा गएर बाला निकाल्ने गरेको कलैया उप–महानगरपालिका २ सानो अवधापुर निवासी विरेन्द्र यादवले दुखेसो पोखे। लगाएको १० कठ्ठा बाली फौजी किराले सखाप पारेपछि अब के गर्ने चिन्ताले उनलाई सताएको छ।

पाकेको धानको बालालाई रातको समयमा काटिदिने र काटेर सुकाएको भदैया धानलाई समेत राति फौजी किराले बाला मात्रै काटेर नोक्सान पुर्‍याउन थालेको बताउछन् कलैया २ का अर्का किसान बासदेव राम ।

जितपुर, सिमरा उप(महानगरपालिकाको वडा नम्बर १५, १७ र १८ का डुमरवाना, रामनगर, मनहर्वा, कुस्माडी कलैया उप(महानगरपालिकाको वडानम्बर २, २४ र २७ को दोहरी पकडी, संखुई, महेशपुर लगायतका क्षेत्रमा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताए। प्रकोप देखिएको क्षेत्रहरुमा निरीक्षण गर्न प्राविधिकहरुको टोली खटाईएको उनको भनाइ छ।

दिनभरी धानको जरामा बस्ने र रात परेपछि लाखौंको संख्यामा अन्नबाली खान निस्कने फौजी किराले एकै रातमा कयौं बिगाहा बाली नष्ट गर्ने गरेको यादव बताउँछन्। अधिक बाढि आएको वर्ष तथा पानी परेर अचानक गर्मी बढेपछि यो किराको प्रकोप बढ्ने गरेको उनको भनाइ छ। फौजी किरा रातको समयमा मात्रै सक्रिय हुने र एकबाट अर्को बालीमा सर्ने भएकाले यसको रोकथामको उपाय किसानहरुले एकै समयमा सामुहिक रुपमा आ–आफ्नो धानबालीमा बिषादी छर्किनु हो । उनका अनुसार सो किरा फेदमा बस्ने भएकाले सिंचाई गर्दा पनि केहि कम हुदै जानेछ।

अनुगमनमा खटिएका कृषि ज्ञान केन्द्र बाराका बाली संरक्षण अधिकृत राज नारायण साहले बाराको उत्तरी क्षेत्रका किसानहरुले लगाएका करीब ७० प्रतिशत धानलाई सो किराले नष्ट गरेको बताए। 'हामीलाई पीडित किसानले सुरुवाति अवस्थामै जानकारी नदिँदा अहिले समस्या बढेको छ।' उनले भने, 'किसानले तयारी धान काटेर सुक्नका लागि खेतमा छोड्न हुँदैन। तयारी अवस्थामा रहेको धान जति सक्दो चाँडो भित्र्याउनु पर्छ।'

प्रकाशित मिति: : 2019-10-11 13:20:52

प्रतिकृया दिनुहोस्