महरा विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता: साढे ७ वर्ष कैद सजायको मागदाबी (भिडियाेसहित)

फाइल तस्बिर:बिएल

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरेको हो

महराविरुद्ध सरकारी वकिलको कार्यालयले  जबरजस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च अहोदामा बसी कसुर गरेको अभियोगमा थप साढे २ वर्ष गरी ७ वर्ष ६ महिना कैद सजायको अदालत समक्ष मागदाबी गरिएको छ ।

तर कुन अभियोग र के मागदाबी हुनेछ भन्नेबारे सरकारी वकिलको कार्यालयले खुलाएको छैन।

महरामाथि ३६ पृष्ठको आरोपपत्र दायर भएको छ । आरोपपत्रमा ५ जना सुरक्षाकर्मीसहित संसद सचिवालयमा कार्यरत रोशनी शाहीको कोठामा महरा आफैले ‘रक्सीको बोत्तल’ बोकेर पुगेको उल्लेख गरिएको छ ।

‘राज्यको उच्च ओहोदामा पुगेका महराले कुनै हेक्का नराखी राज्य र आमनागरिक समेतका हकमा पर्ने असर समेतलाई ख्याल नगरी सोको संवेदनशीलताप्रति वेवास्ता गरी, केही सुरक्षाकर्मी मात्र लिई साँझ मादक पदार्थ सेवन गरी, साथमा रक्सी रहेको बोत्तल आफ्नो साथमा लिई, पीडित एक्लै रहेको निजको डेरामा गई निजलाई जबरजस्ती मादक पदार्थ सेवन गर्न कर लगाई गराई अनुचित प्रभावमा पारी पीडितलाई जबरजस्तीकरणी गर्न खोजेको’ आरोपपत्रमा उल्लेख गरिएको छ ।

दुई नेपाल प्रहरीका असई, एक जना नेपाली सेनाका जमदार, एक प्रहरी हवल्दार र एक सशस्त्र जवानसहित महरा रोशनीको तीनकुनेस्थित सुविधानगर कोठामा पुगेको आरोपपत्रमा उल्लेख छ ।

आरोपपत्रमा शाहीकी घरबेटीले बयान दिन इन्कार गरेको बताइएको छ । त्यस्तै पीडक र पीडित दुवैले मोबाइल सेट दिन इन्कार गरेको समेत उल्लेख छ ।

प्रहरी समक्ष आरोपित महराले रिसको झोकमा आफूले मोबाइल फुटाइदिएको बताएका छन् । प्रहरीको बयानमा घटनास्थल नजिक पुगेको स्वीकार गरेपनि कोठामै भने नगएको बताएका छन् । घटनास्थलबाट प्रहरीले बरामद गरेको चस्मा र हाल महराले लगाइरहेको चस्माको पावर मिलेको छ ।

प्रहरीले महाराको डीएनए परीक्षणको लागि अस्पताललाई पत्र पठाएपनि अस्पतालले स्याम्पल नपठाएको आरोपपत्रमा उल्लवेख गरिएको छ ।

अब शुक्रबारदेखि महरामाथि थुनछेकको बहस हुनेछ। शुक्रबारको थुनछेक बहसपछि उनलाई थुनामा राखेर मुद्दा अघि बढाउने, धरौटी वा साधारण तारिखमा छाड्ने भन्ने अदालतले तय गर्नेछ।

संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका महरा सभामुखको सरकारी निवास बालुवाटारबाटै असोज १९ गते पक्राउ परेका हुन्।

असोज २८ गते जिल्ला अदालत काठमाडौंले महरालाई पहिलो पटक (पक्राउ परेदेखि १३ दिन) थुनामा राख्न म्याद दिएको थियो। त्यस्तै प्रहरीको अनुसन्धान नसकिएपछि कार्तिक ३ गते फेरि पाँच दिनको लागि म्याद थपिएको थियो।  त्यस्तै कार्तिक ८ गते तेस्रो पटक एक साताको म्याद थप गरिएको थियो ।

मुद्दा दर्ता भएपछि महरालाई प्रहरीले फेरि थुनामा लगेको छ । 

 

प्रकाशित मिति: : 2019-10-31 17:10:57

प्रतिकृया दिनुहोस्