मुस्लिमको मोहर्रममा तरवार जुधाउँदा पाँच युवा घाइते

मोहर्रम पर्वमा तरवार प्रदर्शन गर्ने क्रममा घाइते भएका युवाको कोसी अस्पतालमा उपचार हुँदै । बिएल

धार्मिक मान्यता भन्दै मुस्लिम समुदायको मोहर्रम पर्वमा तरवार जुधाउँदा विराटनगरमा सोमबार राति पाँच युवा घाइते भएका छन्। 

विराटनगर महानगरपालिका–९ घोघा पुलचोकमा प्रदर्शन गर्दै घरेलु हतियार तरवार जुधाउँदा र नचाउँदा मुस्लिम युवाहरु घाइते भएका हुन्। घटना राति ११ बजेको हो।

घाइते हुनेमा विराटनगर–९ का १९ वर्षीय रजक खान, मोहम्मद अजाद, विराटनगर–८ का १८ वर्षीय मोहम्मद राज, २१ वर्षीय मोहम्मद मसिम र २२ वर्षीय मोहम्मद अस्लम रहेका छन्। टाउको, चिउँडोलगायत शरीरका विभिन्न भागमा हतियारले काटेर चोट लागेका उनीहरुलाई उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिएको छ।

किन मधु लियमेले भारतीय संसदभित्र भने, ‘ईन्दिरापछि भारतमा कुनै ठूलो नेता छ भने बिपी हुन्’

मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले घटनाका बारेमा जाहेरी वा उजुरी नपरेको बताए। हतियार प्रदर्शन गरेर पर्व मनाउने क्रममा युवाहरु घाइते हुन थालेपछि कार्यक्रम भने बन्द गरिएको थियो।

श्रेष्ठले पर्व मनाउँदा तरवार प्रदर्शन गर्ने क्रममा केही युवा घाइते भए पनि जाहेरी नपरेका कारण घटनाको आधिकारिक रेकर्ड प्रहरीमा नरहेको स्पष्ट पारे। ‘मुस्लिम समुदायको यो पर्वमा धारिलो घरेलु हतियार प्रदर्शन गर्ने गरिँदो रहेछ,’ उनले भने, ‘त्यस क्रममा चोट लागेमा वा कुनै घटना भएमा प्रहरीलाई जानकारी भने गराइँदैन।’

धार्मिक मान्यताअनुसार पर्व मनाइएकाले जनजीवन आतंकित पार्ने गरी हतियार प्रदर्शन गर्दा र नचाउने काम हुँदा पनि प्रहरीले रोक्न नसक्ने बताइएको छ। मुस्लिम युवाहरुले पर्वका अवसरमा प्रत्येक वर्ष तरवार, खुँडा, भाला लगायतका घरेलु हतियार लिएर ‘फाइटिङ स्किल’ प्रदर्शन गर्छन्। त्यही क्रममा चोट लागेर विराटनगरमा केही युवा घाइते हुन पुगेको जानकारी डीएसपी श्रेष्ठले दिए।

बिपी भन्थे– दरबार फ्याँक्ने वित्तिकै नेपाल विदेशी शक्तिको अखडा बन्ने छ (भिडियोसहित)

पर्व मनाउने क्रममा मुस्लिम युवाहरुले खुलेआम हतियार प्रदर्शन गर्दा जनजीवन भने आतंकित हुने गरेको छ। युवाबीचमै हतियार हानाहान गरिरहेको देखिने दृष्यले झन् त्रास उत्पन्न गराउने गरेको छ। एउटाले हतियार प्रहार गर्न खोज्ने र अर्कोले बचाउने क्षमता एवं कला प्रदर्शन गरिने गरिन्छ। मुस्लिम पात्रोअनुसार हिजरी संवत १४४१ को मोहर्रम महिनाको १० तारिखमा यो पर्व धुमधाम मनाइन्छ।

लगभग एक हजार चार सय ५० वर्षअघि यजिदको आक्रमणमा मारिएका इस्लामिक धर्म गुरु हजरते इमामे हुसैनको सम्झनामा तहजिया राखेर यो चाड मनाइन्छ। हुसैनको प्रतीकस्वरुप घर–घरमा तहाजियाको पूजा गर्ने चलन रहेको मुस्लिम अगुवा बताउँछन्।

प्रकाशित मिति: : 2019-09-10 19:21:31

प्रतिकृया दिनुहोस्