पिएचडी सर्टिफिकेट बाेकेर बृद्धाश्रम बसेकी शान्तिप्रियाको दुबै मृगौला चल्न छोड्यो (भिडियाे सहित)

बिएल

यति बेला सबै नेपाली दशैंको चाँडसँगै रमाइलो गर्न व्यस्त छन्। विदेशबाट आएका आफन्त दङ्ग परेर गाउँघरतिर लागि सके। गाउँमा हुने परिवारसँग रमाइलोमा मस्त छन्।

सबैको घरमा दशैं प्रवेश गरिसक्यो। तर, कुनै बेला जडिबुटी अनुसन्धान विभागमा पिएचडी गर्ने एक मात्र कर्मचारीको परिचय बनाएकी ६९ वर्षीय डाक्टर शान्तिप्रिया उपाध्याय रोगका कारण थलिएकी छिन्।

उच्च रक्तचापका कारण उनको दुबै किड्नीले काम गरेको छैन भने दुबै खुट्टा सुन्निएर पिप जमेको छ।

कुपण्डोलमा रहेको शान्तिप्रियाको घर उनको प्रतिक्षामा उदास र उजाड देखिन्छ। सुनसान घरबाहिर झुन्डाइएको डाक्टर शान्तिप्रिया लेखेको बोर्डले उनको सम्झना गराउँछ। तर, उनी ५ दिनको अस्पताल बसाइँपछि आइतबार भक्तपुरस्थित मानव कल्याण समाज सेवा आश्रममा फर्किएकी छिन्।

आश्रमकी सञ्चालिका सुमी मानवले कुपण्डोलस्थित शान्तिप्रियाकै घरमा दयनीय अवस्थामा एक वर्षअगाडि उद्धार गरेकी थिइन। भनिन्– ‘म्याडमलाई एक्कासि ज्वरो आयो। दुबै खुट्टा सुन्निएका थिए। अस्पताल पुर्याउँदा दुबै किड्नीले काम गरेको छैन भन्दा हामी झस्याङ भयौं।’

उनले शान्तिप्रियाको उपचार पहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा गरेको र हाल भक्तपुरस्थित दुवाकोटमा उपचार गराइरहेको बताइन्।

मानव सेवा समाजमा यति बेला ६० बुवा–आमा र छोराछोरी छन्। दशैंको मुखमा सेवाघरमा सेवा दिने भोलेन्टियर पनि नभएकोले डाक्टरलाई अनुरोध गरेर केही दिनको लागि शान्तिप्रियाको रेखदेखमा राखेको पनि उनले जानकारी दिइन।

यो पनि पढ्नुस्

एक उपसचिवको कथाः पिएचडीको सर्टिफिकेट बोकेर वृद्धाश्रममा (भिडियो सहित)

दशैं लगत्तै उहाँलाई पुनः अस्पताल भर्ना गरिने सुमी मानवले बताइन। ‘शान्तिप्रियाको खुट्टामा जमेको पिप औषधीले सुकेन भने खुट्टानै काट्नु पर्ने चिकित्सकले बताएका छन्’, उनले भनिन्।

प्रतिष्ठित परिवारमा जन्मिएकी उनी वनस्पति विभागमा उपसचिवमा कार्यरत थिइन। आफ्नै घरमा वेवारिसे अवस्थामा रहेकी शान्तिप्रियालाई सुसारेको भरमा वर्षौदेखि हिवलचेयरमा राखिएको थियो।

बिएल नेपाली सेवाले डाक्टर शान्तिप्रियाको अवस्थाबारे पहिलो पल्ट समाचार सार्वजनिक गरेको थियो। उनको अवस्था सार्वजनिक भएपनि न परिवारका सदस्य, न साथी भाई कोही पनि उनलाई भेट्न अहिलेसम्म आश्रम पुगेका छैनन्।

समाचार सार्वजनिक भएपछि डाक्टर शान्तिप्रियाको पेन्सनको कागज भने कुपन्डोलकै स्थानीय शिव थापा नाम गरेको एक व्यक्तिले समाजसेवा घरलाई उपलव्ध गराएका छन्।

‘हामीले ऋण खोजेर उपचार गराइरहेका थियौं। पेन्सनको केही रकम प्राप्त भएपछि उपचार गर्न केही सहज भएको छ,’ सुमीले भनिन्।

को हुन्, शान्तिप्रिया?

विगत एक वर्षदेखि भक्तपुरको मानव कल्याण समाजमा आश्रय लिँदै आएकी बृद्धा हुन्, डाक्टर शान्तिप्रिया उपाध्याय।

नागरिकतामा उनको स्थायी ठेगाना लेखिएको छ, लाजिम्पाट।

जन्ममिति २००७ साल साउन १९ गते।

उनलाई कुपण्डोलबाट उद्धार गरिएको थियो। शान्तिप्रियाको बुवाको नाम हो, रामेश्वर पौडेल र आमा यशोदा।

उनले त्रिचन्द्र कलेजबाट केमेस्ट्रीमा स्नातकोत्तर गरेकी थिइन्। जडिबुटीमा उनले फ्रान्सबाट पिएचडी गरेकी हुन्।

६९ वर्षीय शान्तिप्रिया जडिबुटी अनुसन्धान विभागमा पिएचडी गर्ने एक मात्र कर्मचारी हुन्। उनीबाहेक हालसम्म कसैले पिएचडी नगरेको उनकै सहकर्मी सरिता श्रेष्ठ बताउँछिन्।

‘२०४४ सालमा म जागिरे भएर आउँदा उहाँ विभागमै हुनुहुन्थ्यो,’ सरिता भन्छिन्, ‘उहाँ निकै मिहिनेती र अनुशाषन प्रेमी कर्मचारी होे।’

शान्तिप्रियाका बुवा र आमा दुबै सरकारी जागिरे थिए। कान्छा काका ठाकुरनाथ शर्मा रेडियो नेपालका अवकाशप्राप्त कर्मचारी।

उनी आफै वन मन्त्रालयअन्तर्गत वनस्पति विभागको प्राकृतिक अनुसन्धान शाखामा वरिष्ठ अनुसन्धान अधिकृत अर्थात उपसचिव थिइन्।

अवकाशपछि उनले कुपण्डोलस्थित आफ्नै घरमा वनस्पति रिसर्च सेन्टर खोलेकी थिइन्। उनी त्यहाँ साबुन, अत्तरलगायतका समान उत्पादन गर्थिन्।

गत वर्ष कुपण्डोलका स्थानीयलगायत वडा कार्यालयका अधिकारीहरूले शान्तिप्रियाको बिजोगको विषयमा मानव कल्याण समाजलाई जानकारी दिएका थिए।
यस्तो थियो, उनको अवस्था

मानव कल्याण समाजका पदाधिकारी उद्धारका लागि कुपण्डोलस्थित शान्तिप्रियाको घर पुग्दा उनको अवस्था निकै दयनीय थियो। बाहिरबाट घर निकै सुन्दर र चिट्टिक्क परेको देखिन्थ्यो।

तर, घरभित्रको माहोल राम्रो थिएन। शान्तिप्रिया लट्टा परेको कपाल, शरीरको एउटा पाटो नचलेर ह्विल चियरमा थलिएको अवस्था र पुरै शरीर गन्हाइरहेको अवस्थामा एउटा कोठामा थुनिएर बसेकी थिइन्।

उनको त्यो हालत देखेर मानव कल्याणकी सञ्चालिका सुमी मानवको आँखा पनि रसाएका थिए।

‘मूलत हामी सडकपेटीमा हुने बृद्धबृद्धालाई मात्र आश्रममा उद्धार गरेर ल्याउछौं। तर, उहाँ (शान्तिप्रिया) को अवस्था देखेपछि घरमा छोड्न मन लागेन। त्यसैले आफैसँग लिएर आयौं,’ सुमीले बिएल नेपाली सेवासँग भनिन्।

शान्तिप्रियाको घरभन्दा आश्रम निकै सानो छ। तर, उद्धार भएर आएको रात आफू बर्षौपछि मस्तले ओछ्यानमा सुतेको शान्तिप्रियाले आफूलाई भनेको सुमी बताउँछिन्।

सुमीले आफ्नो जीवनमा थुप्रैलाई उद्धार गरिसकेकी छिन्। तर, उनी पढाईमा डाक्टरी गरिसकेको, राम्रो कूल खान्दान भएको, धनसम्पत्ति पनि प्रशस्त भएको र नेपाल सरकारको उच्च तहमा बसेर काम गरिसकेको व्यक्ति यो हदसम्म पीडित भएको आफूले पहिलोपल्ट भेटेको बताउँछिन्।

‘मलाई लाग्छ, यो औंलामा गन्न भ्याउने घटना होला,’ उनी भन्छिन्।

शान्तिप्रियाको जागिर जीवन

शान्तिप्रिया जागिरमा पनि अब्बल मानिन्थिन्। पुरुष हावी भएको समाजमा विदेशमा पढेर पिएचडी गर्दै नेपाल सरकारको उपसचिव पदसम्म पुग्नु चानचुने कुरा पक्कै होइन्।

शान्तिप्रियाले जागिरकै क्रममा विश्वका धेरै देश घुमिसकेकी छिन्। उनलाई अहिलेसम्म घुमेको देशहरूमा जापान औधी मनपर्छ।

उनलाई घरबाट उद्धार गरिदा पनि जापानको नाम लिनुपरेको थियो। ‘उहाँ हिड्न नमानेपछि हामीले एकजना जापानी भाषा बोल्ने मानिस लगेर तपाईलाई जापानिज अस्पतालमा उपचार गराएर ल्याउने प्रलोभन देखाएका थियौं,’ सुमी भन्छिन्।

कुपण्डोलमा नाइटएङ्गल स्कुलको नजिकै उनको घर छ। घरमा सबैतर्फ ताल्चा लगाइएको छ। तर, घरको बाहिरी भित्तामा २ वटा बोर्ड टाँगिएको छ। जसमा लेखिएको छ– ‘डा. शान्तिप्रिया उपाध्याय।’

उनी रामेश्वर पौडेलकी जेठी श्रीमति पट्टिकी एकमात्र सन्तान हुन्।

आमा स्वर्गवास नहुँदै बुवाले कान्छी बोकेर ल्याएछन्। यसपछि यी दुबै आमा–छोरीको बिजोग भयो।

बुवाको व्यवहारबाट खुम्चिएकी शान्तिप्रियाले बिहे गरिनन्। उनी आमाकै सेवा गरेर बसिन्।

६ वर्षअघि उनलाई अर्को दुःखले घेर्यो। वनस्पति विभागको हलमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्तालाई पढाउने क्रममा उच्च रक्तचापले उनी एक्कासी ढल्न पुगिन्।

यसपछि उनको शरीरको एउटा भागमा पक्षघात भयो।

आफूलाई सेवा गर्ने छोरी नै ‘प्यारालाइसिस’ का कारण ओझ्यानमा परेपछि आमाको पनि बिजोग भयो र त्यही साल निधन भयो।

आमाको निधनपछि झन् एक्लिएकी शान्तिप्रिया केही वर्ष सुसारेको भरमा कुपण्डोलको सिंगो घरमा बसोबास गर्दै आइरहेकी थिइन।

उनलाई सेवा गर्ने सुसारेको व्यवहार त्यति राम्रो थिएन। उनी बिहान खाना दिन घर आउँथिन् र दिउँसो भरी उनलाई कोठा बाहिर निकालेर जान्थिन्। साँझ परेपछि फेरि कोठामा हुलेर बाहिरबाट ताल्चा लगाएर घर फर्किने गर्थिन्।

यसले शान्तिप्रियाको शारीरिक मात्र होइन, मानसिक पीडा पनि बढ्दै गइरहेको थियो।

राती कोठामा थुनिनु पर्दा कैयौं रात उनले ह्विल चियरमै दिसापिसाब गर्नु परेको थियो।

उनको उद्धार गर्न जाँदा कोठा दिसापिसाबले गन्हाएको सुमी बताउँछिन्।

शान्तिप्रियाको कुपण्डोलको हालको घरजग्गाको लालपुर्जा ललितपुर वडा कार्यालयमा सुरक्षित छ। तर, घरको साँचो कोसँग छ? त्यो कसैलाई थाहा छैन।

ललितपुर वडा नं १ का वडा अध्यक्ष निर्मल तण्डुकार भन्छन्, ‘उहाँको घरको लालपुर्जा वडामा सुरक्षित छ। तर, घरको ताल्चाको विषयमा हामी अनभिज्ञ छौं। सायद त्यही सुसारेसँग छ कि?’

शान्तिप्रियाको मानसिक अवस्थामा अहिले पनि सुधार हुन सकेको छैन। त्यसैले उनी धेरै कुरा ठ्म्याउन असमर्थ छिन्।
तर, उनलाई एउटा कुरा अझै याद छ, आफ्नो घर बाहिर टाँगिएको दुई वटा बोर्ड, जसमा लेखिएको छ–‘डा शान्तिप्रिया उपाध्याय’।

उनी भन्छिन्, ‘मेरोमा विदेशीहरू रिसर्च गर्न आउँछन्। उनीहरूलाई घर चिन्न सजिलो पर्छ। त्यसैले ‘डा.शान्तिप्रिया उपाध्याय’ लेखिएको बोर्ड यहाँ ल्याइदिनु पर्यो।’

 

प्रकाशित मिति: : 2019-10-07 18:54:51

प्रतिकृया दिनुहोस्